भारत र पाकिस्तानबीचको द्वन्द्व नयाँ उत्कर्षमा पुग्नेबित्तिकै दक्षिण एसिया मात्र होइन, यो विश्वव्यापी चासोको विषय बन्यो । अमेरिका र अन्य देशको मध्यस्थतामा दुई देशबीच तत्कालका लागि संघर्षविराम त भएको छ तर दुवै पक्षका गतिविधि र अभिव्यक्तिहरूले सकारात्मक भविष्यको संकेत भने गरेका छैनन् ।
यसै पनि अस्थिर र जटिल राजनीति, सीमा विवाद, आतंककारी समूहहरूको गतिविधि लगायतले दक्षिण एसिया आक्रान्त छ । यस्तोमा दुई आणविक राष्ट्र आपसमा युद्धउन्मुख हुनु विश्वका लागि जुनै दृष्टिले पनि घातक हो । उता पछिल्ला घटनाक्रमले रूस र युक्रेन वार्तामार्फत युद्ध अन्त्यको बाटोमा उन्मुख देखिन्छन् ।
इजरायल र हमासबीचको संघर्ष भने अन्तहीन देखिन्छ । फायरसाइडमा आज हामी भारत र पाकिस्तानबीचको संघर्ष र यसै साता भएको संघर्षविरामदेखि विश्वव्यापी रूपमा बढ्दै गरेको द्वन्द्व र अशान्ति, अनि अमेरिकामा डनल्ड ट्रम्पको पुनरोदयपछि देखिएका उथलपुथलमाथि पनि छलफल गर्नेछौं । आज हामीसँग हुनुहुन्छ, अन्तराष्ट्रिय मामिला विज्ञ तथा अनुसन्धाता लीला न्याइच्याईं ।