आज नयाँ वर्ष २०८२ को पहिलो दिन । फायरसाइड टिम र कान्तिपुर टेलिभिजनको तर्फबाट हार्दिक शुभकामना ।
अभाव र विभेदको अँध्यारोलाई चिर्दै एउटा मानिस संघर्षको मैदानमा उत्रिन्छ । आइपर्ने हरेक अवसर र चुनौतीको सामना गरिरहन्छ, आफैँलाई परीक्षण गरिरहन्छ र उत्तिर्ण भइरहन्छ, त्यो पनि उत्कृष्ट नतिजाका साथ । अनि एउटा यस्तो समय आउँछ, सफलताका हरेकजसो मानकहरुमा उसले आफूलाई अब्बल तुल्याउँछ, अन्धकारबाट आफूलाई प्रकाशमा उभ्याउँछ ।
यो समय उसँग काम छ, नाम छ, दाम छ । सिर्जनाको हुटहुटीले उसलाई गीत लेखाउँछ, कथा लेखाउँछ । ऊ लेख्छ, गाउँछ, आफैंले बाँचेर कथा संसारलाई देखाउँछ । अनि चर्चा र प्रशंसा उसका पर्याय हुन्छन् । तर त्यतै कतै सँगसँगै उभिन्छ विवाद, आरोप र गाली । सपुतको रुपमा स्थापित बन्दै गर्दा केही प्रश्नहरुले उसको निद्रा खलबल्याइरहन्छ । नयाँ वर्षको पहिलो दिन हामी संघर्षदेखि उत्साहजनक सफलतासम्मको कथा बाँचिरहेका एक पात्रसँग संवाद गर्दैछौं । र खोज्दैछौं ती प्रश्नका उत्तर जसले उसको निद्रा घरिघरि बिथोल्छ । फायरसाइडको आजको अंकमा हामीसँग हुनुहुन्छ, गायक, संगीतकार, अभिनेता तथा निर्देशक प्रकाश सपुत ।