
रामेछाप । सगरमाथा लक्ष्य राख्नेहरूका लागि यो फगत सपना मात्र हुँदैन ।
कति बीचमै थाक्छन्, बिरामी पर्छन्, हातगोडा जमेर अशक्त पनि हुन्छन् । अनि कति त कहिल्यै फर्केर आउँदैनन् । तर, जसले आरोहण पूरा गर्छ उसले त्यो खुसीको बराबर अरू केहीमा भेट्दैन । यस वर्ष रामेछापका तीन युवाले त्यो अवर्णनीय खुसी प्राप्त गरेका छन् । जसले सिंगो जिल्लालाई नै गौरव गर्ने अवसर दिएको छ ।
मन्थली नगरपालिका-१ का २५ वर्षीय धानुकुमार श्रेष्ठका लागि सगरमाथा आरोहण जीवनकै ठूलो सपना थियो। जुन सपना दुई पटकको प्रयास र अनेक कठिनाइपछि गत जेठ ७ गते दिउँसो १ बजे पूरा भयो । सगरमाथाको अन्तिम शिविर क्याम्प-४ बाट सुरु भएको ७२ घण्टाको कठिन, जोखिमपूर्ण यात्रापछि जब उहाँ सर्वोच्च शिखरमा पुग्नुभयो, तब सपना पूरा भएको त्यो क्षण कस्तो थियो होला ?
पर्यटन विषयमा स्नातक गर्नुभएका श्रेष्ठ गत वर्ष नै शिखरको बाटोमा लम्किनुभएको थियो । तर, मौसम प्रतिकूल भएपछि फर्कनुपर्यो । त्यसअघि पनि प्रयास सफल भएको थिएन । तर, सानैदेखि हिमाल र पर्यटनप्रति आकर्षित धानुले २०२४ यता हरेक वर्ष लुबुचे हिमाल आरोहण गर्दै अनुभव बटुल्दै सगरमाथाको सपना पूरा गर्नुभएको हो ।
गत वर्ष उहाँले युरोपकै सर्वोच्च शिखर माउन्ट एलब्रस पनि आरोहण गर्नुभएको थियो । यो वर्ष लुबुचेकै लक्ष्य लिएर हिमालतिर लाग्नुभएको थियो लिखु तामाकोशी गाउँपालिका-५ नागदहकी २५ वर्षकी सरिता घिसिङ-म्यागेन । तर, परिस्थिति यस्तो बन्यो, उहाँ सगरमाथासम्मै पुग्नुभयो । जेठ १३ गते बिहान ५ बजेर १५ मिनेटमा उहाँले चुचुरोमा पाइला राख्नुभयो ।
हुन त उहाँ बेसक्याम्प पुग्नेबित्तिकै बिरामी पर्नुभएको थियो । साथीहरूले त आरोहण स्थगित गरेर घर फर्किन पनि भने । तर, आँखै अगाडिको शिखर छोड्न मन मानेन । दुई दिन आराम गरेर स्वास्थ्यमा सुधार आएपछि उहाँ फेरि उकालो लागेर चुचुरो चुम्नुभयो ।
श्रेष्ठ र घिसिङले सगरमाथामा देशको झन्डा फहराएसँगै उनीहरूको परिवारमा मात्र होइन, यतिबेला सिङ्गो रामेछाप जिल्ला गौरवान्वित छ । हिमाल चढ्न भनेर घरबाट बिदा गरेका छोराछोरी सुरक्षित फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्तामा दिनरात बिताएका आमा-बुबाका लागि यो पल बयान गरिसाध्य छैन ।
छोराछोरीले सगरमाथा चढेको क्षण बाआमाको खुसीले सगरमाथा नाघ्थ्यो । श्रेष्ठ र घिसिङसँगै रामेछापकै गोकुलगंगा गाउँपालिका वडा नं १ घर भएकी अनिता कार्कीले पनि सगरमाथा चुचुरोमा आफ्नो पाइला टेकिन् । सशस्त्र प्रहरीमा सहायक हवल्दार पदमा कार्यरत कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा आरोहण पूरा गर्नुभएको थियो । यी तीनको यो उपलब्धिले अब धेरै युवालाई आफ्नो सपना पछ्याउन थप ऊर्जा दिएको छ।