काठमाडौं । नेतादेखि नागरिकसम्म सबैको साझा थलो बनेको छ माइतीघर मण्डल ।
अधिकार माग्न होस् वा न्याय खोज्न, राजनीतिक लडाइँ होस् वा सांस्कृतिक, माइतीघरको आँगनले सबैलाई वास दिएको छ । विरोध प्रदर्शन हुँदै परिवर्तनको पर्याय बनेको छ माइतीघर ।
विरोधको विम्ब र परिवर्तनको पर्याय बनेको यही माइतीघरबारे सहकर्मी शिखा श्रेष्ठले तयार पारेको यो रिपोर्ट ।
न्यायको लडाइँ लड्नु पर्दैन थियो भने यतिबेला यो तीन महिनाको शिशु घरमा स्याहार र पोषणा पाएर हुर्किइरहेको हुन्थ्यो । विडम्बना, यो तीनमहिने शिशु अहिले माइतीघरमा आमासँगै न्याय र पहिचानको संघर्ष गर्न बाध्य छ । जाजरकोटकी यी २५ वर्षीय महिलाले यसरी आवाज उठाउन थालेको दुई साता भइसक्यो । उहाँ माग एउटै छ- बच्चाको जन्मदर्ता ।
महिलाका अनुसार नेपाल प्रहरीका जवान भूपेन्द्र सिंह ठकुरीले आफूलाई जबर्जस्ती करणी गरेपछि बच्चा जन्मिएको हो । अब बच्चालाई पहिचान दिलाउन पाए आफू माइतीघरको शरण छोडेर गइहाल्ने उहाँ बताउनुहुन्छ । यी आमाछोरा जन्मदर्ता खोज्दै आइरहँदा अर्को कुनामा नागरिकता खोज्दै सरकारलाई आफ्नो वेदना सुनाउन केही मानिस जम्मा भएका छन् ।
वर्षौँदेखि सीमाको रक्षा गर्दै आए पनि र छातीमा गोली खाए पनि अनागरिक नै रहिरहेपछि नेपाली नागरिकका रूपमा आफूहरूलाई भर्ना गर्न धर्ना दिइरहेका हुन् उनीहरूले । यीसँगै अहिले माइतीघरको आँगनमा विभिन्न माग राखेर आठ जना पीडित र समूह रातदिन धर्ना दिइरहेका छन् ।
छिनमै चर्को घाम अनि निमेषभरमै हुने झमझम वर्षाको पर्वाह नगरी सामान्य त्रिपालको ओतमा सडकमा वास बसिरहेका छन् । किनकि सबैलाई आस छ, माइतीघरले न्याय दिन्छ दिन्छ । जस्तो, सरकारले ल्याएको गुठी विधेयकविरुद्ध २०७६ सालमा उपत्यकाका नेवार समुदायले माइतीघर मण्डलमै बृहत् आन्दोलन गरे । अन्ततः सरकार विधेयक फिर्ता लिनसमेत बाध्य भयो ।
आमनागरिक मात्र कहाँ हुन् र, देशका शीर्ष भनिएका नेताहरू पनि संघर्ष गर्न माइतीघरमा उत्रिएको धेरै वर्ष भएको छैन । २०७७ पुस १० गते ‘हामी यहाँ छौँ’ लेखिएका प्लाकार्ड बोकेर पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका नेताहरूले माइतीघरमै धर्ना दिएर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरेका थिए ।
अझ देशमा पुस्तान्तरण र नयाँ जनादेशसँग जोडिएको पछिल्लो जेन-जी आन्दोलन पनि माइतीघरकै आँगनबाट उठेको थियो । सायद यसैले होला, सुधन गुरुङ दोस्रोपटक गृहमन्त्री बनेपछि माइतीघर मण्डल पुगेर आन्दोलित सबै पीडितहरूलाई अधिकार र न्याय दिलाउने आश्वासन बाँड्नुभएको थियो ।
माइतीघरमा नागरिक संघर्ष र आन्दोलन हुन थालेको लामै भइसकेको छ । काठमाडौँ महानगरपालिकाले २०५७ सालमा २२ वटा घर हटाएर सौन्दर्यीकरण गर्दै माइतीघर मण्डलको अहिलेको स्वरूप निर्माण गरेको थियो । तत्कालीन नगरप्रमुख केशव स्थापितले ११औँ सार्क शिखर सम्मेलन आयोजना हुने बेलामा यस क्षेत्रको चारैतिर रहेका बस्तीलाई स्थानान्तरण गरी मण्डल निर्माण गराएका थिए । र, नाम राखिएको थियो- फिब्वः ख्यः ।
२०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि प्रदर्शनहरू हुन थालेपछि तत्कालीन सरकारले दरबार आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो । सिंहदरबारनजिक पर्ने गरी आन्दोलनका लागि माइतीघरदेखि बानेश्वर जाने सडक नै बाँकी भयो ।
त्यसमाथि ललितपुर तथा कीर्तिपुरतिरबाट आउँदा पनि केन्द्रमा पर्ने र भक्तपुरबाट आउनेलाई पनि सिंहदरबारको नजिकको थलो भएकाले परिणामतः विरोधका कार्यक्रमहरू माइतीघरमा हुन थाले । ०६२/६३ को आन्दोलन पनि माइतीघरबाटै उठ्नुको एउटा कारण यो पनि हो । त्यसयता माइतीघर प्रदर्शन हुँदै परिवर्तनकै पर्याय बनेर उभिएको छ ।