काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने भएकाले विविध विषयमा उठिरहेको सवालले केवल समाजमा अराजकता मात्र निम्त्याउने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीसँग कान्तिपुर कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले दलीय व्यवस्थामा दलहरूबीच आउने मतभेदहरूलाई सामान्यरूपमा लिनुपर्ने र सरकारले यसको समाधानका लागि छलफल विमर्श गरेर सही निकास निकाल्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान व्यवस्थाको विरुद्ध उठिरहेको आवाजले समाजलाई अराजकतातर्फ केन्द्रित गरेको बताउनुभएको छ । कान्तिपुर टेलिभिजनले सञ्चालन गरेको प्रधानमन्त्रीसँग कान्तिपुर कार्यक्रममा उहाँले लोकतन्त्रको विकल्पमा अरू सोच्न नसकिने बताउनुभयो । प्रधानमन्त्री ओलीसँग व्यवस्थाको प्रतिरक्षाका लागि दलहरूले देखाइरहेको चासोदेखि संविधानतः कानुन निर्माणमा देखिएको उदासीनताको विषयमा कान्तिपुरकर्मीहरूले प्रश्न उठाएका थिए ।
“समाजमा अराजकता फैलाएर अगाडि पुगिँदैन भन्ने कुरा त बताउनपर्छ । लोकतन्त्रको विकल्प हुँदैन यसलाई अझ उन्नत बनाएर लग्नुपर्छ । उन्नत लोकतन्त्र भनेको प्रतिगामी मान्छेको शासन होइन”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले समाजमा फैलिँदै गइरहेको नकारात्मक भाष्यलाई सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक मूल्य मान्यता विपरीतका घटना र आवाजहरू सह्य नहुने उद्घोष समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दलहरूबीच उठेका मतभेदका सवाललाई समाधान गरेर निष्कर्षमा पुग्ने दायित्व सरकारको भएकाले यसैतर्फ उद्यत रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अधिकार नपाएका कारण काम गर्न नसकेको भन्ने मुख्यमन्त्रीहरूको भनाइप्रति असहमति जनाउनुभएको छ । उहाँले नागरिकको चासो गुनासो र सरोकारका विषयमा काम गर्न प्रदेश तथा स्थानीय तहलाई पर्याप्त अधिकार रहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्रीसँग कान्तिपुर कार्यक्रम आज बिहीबार राति ९ बजे प्रसारण हुनेछ ।