सरोकार : मैदान नपाएपछि देश छाड्दै खेलाडी, मन्त्री भन्नुहुन्छ- “विदेशी खेल्न आउँछन् !”

माघ ३०, २०८१ |विकास थपलिया
सरोकार : मैदान नपाएपछि देश छाड्दै खेलाडी, मन्त्री भन्नुहुन्छ- “विदेशी खेल्न आउँछन् !”

यतिखेर नेपाली खेलकुद क्षेत्र अन्योल र विवादबीच अगाडि बढिरहेको छ । चैत्र २३ गतेदेखि कर्णालीको राजधानी सुर्खेतमा हुने घोषणा गरिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि अनिश्चित बनेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अर्थ मन्त्रालयले फाइल अड्काएका कारण प्रतियोगिता अन्योलमा परेको बताउन थाल्नुभएको छ ।

पूर्वाधार निर्माण सकिए पनि खेलकुद आयोजना गर्न सरकार नै तयार नभएपछि दोस्रो पटक तय गरिएको मितिमा पनि प्रतियोगिता सञ्चालन नहुने लगभग निश्चित भएको छ । उता नेपाली खेलकुदको अन्तर्राष्ट्रिय जगतमा समन्वय गर्ने नेपाल ओलम्पिक कमिटी र सरकारबीचको विवाद उत्कर्षमा छ । यसले १४ औं दक्षिण एशियाली खेलकुदको तयारीमा गम्भीर असर पारेको छ । यो विवादको हल खोज्नु पर्ने निकाय राष्ट्रिय खेलकुद परिषद् पनि विवादकै भुमरीमा रुमल्लिएको छ । राखेप र सरकारबीचको सम्बन्ध पनि सौहार्द्रपूर्ण छैन ।

खेलकुदमा चरम राजनीति, अनिश्चित प्रतियोगिता र लिगका कारण खेलाडी भने निराश हुँदै पलायन हुने क्रम जारी छ । राष्ट्रिय खेलाडीहरूले नै स्वदेशमा खेलेर जीवनयापन गर्ने वातावरण देखेका छैनन् । फुटबल र क्रिकेटका राम्रा खेलाडी विदेश पलायन भइरहेको बेला पछिल्लो पटक भलिबल राष्ट्रिय टोलीकी भरपर्दो स्पाइकर सरस्वती चौधरी पनि अस्ट्रेलिया पलायन भइन् । फुटबल जस्तो मुख्य खेलको लिग समेत हुन नसक्दा विमल घर्ती मगर, सुजल श्रेष्ठ, रेजिन धिमाल जस्ता स्टार खेलाडी विदेशिएका छन् । तर खेलाडीलाई रोक्नु पर्ने ठाउँमा जो छन्, उनीहरू रमिता हेरेर बसिरहेका छन् ।

खेलाडीले किन देश छाड्दैछन् ? जवाफ हो- यो देशमा खेलाडीले खेलेर बाँच्ने आधार देखेका छैनन् । हुन त खेल र खेलाडीको विकासका लागि भन्दै ६२ वटा संघ छन् तर उनीहरू आफ्नो पद, प्रतिष्ठा, विदेश भ्रमण र पैसाका लागि खेलकुदमा राजनीति गरिरहेका छन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि किन अनिश्चित ? ओलम्पिक कमिटी र सरकारबीचको विवाद के हो ? राष्ट्रिय खेलकुद परिषद्ले खेल र खेलाडीका लागि के गर्‍यो त ? खेल संघ खेलाडीका लागि कि पदाधिकारीको प्रतिष्ठाका लागि ? खेलाडी पलायनको रमिता हेर्ने मात्रै कि रोक्नका लागि केही हुँदैछ ? अस्तव्यस्त खेल क्षेत्रको समस्या समाधान गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीसँग के छन् योजना ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौं, स्टुडियोमा निम्त्याएका छौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेश सिलवाल र, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा डबल मेडल प्राप्त गर्न सफल खेलाडी आयसा शाक्य ।

हेर्नुस् कार्यक्रम सरोकार :


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement