काठमाडौं । संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको सुविधा पुर्याउने घोषणा गर्नुभएको छ । तर खानेपानीमन्त्री यादवकै क्वार्टरमा भने धारामा खानेपानी आउँदैन ।
कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा मन्त्री यादवले आफ्नो क्वार्टरमा खानेपानी आपूर्तिको व्यवस्था नै नभएको स्विकार्नुभएको छ । मन्त्री यादवले भन्नुभयो, “क्वार्टरभित्र अहिले पानीको सप्लाइ छैन । त्यसको लागि हामीले योजना बनाउँदै छौं । दक्षिणकालीबाट पानी ल्याउन प्लान गरिसकेका छौं”, उहाँले भन्नुभयो ।
मन्त्री यादवले आफू क्वार्टरमा जारको पानी पिउने गरेको पनि बताउनुभयो । “जारको पानी पिउँछु । झुटो कुरा किन भन्नु । झुटो बोल्ने मान्छे होइन म । जारको पानी पिउँछु किनकि अहिले पानी सप्लाइ दिएको छैन”, मन्त्री यादवले भन्नुभयो ।
उहाँले आफ्नो क्वार्टरमा पानी पुर्याउनभन्दा जनताको घरघरमा पानी पुर्याउन लागिपरेको बताउनुभयो । हाल केवल २७ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी उपभोग गर्न पाएको र ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्दै अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्याइसक्ने दाबी गर्नुभयो । “अब एक वर्षभित्रमा हामीले आधारभूत खानेपानी पहुँच सय प्रतिशत पुर्याउँछौं”, मन्त्री यादवले भन्नुभयो ।
यस्तै उहाँले वर्ष दिनभित्रै २७ प्रतिशतबाट ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने पनि दाबी गर्नुभयो ।
मन्त्री यादवले काठमाडौं उपत्यकामा आगामी असारदेखि बर्खामा समेत मेलम्चीको पानी आउने प्रणाली निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । “मेलम्चीको पानी बन्द भएर जुन हाहाकार हुन्थ्यो, आउँदो असारदेखि हुँदैन”, उहाँले भन्नुभयो ।
यस्तै उचित व्यवस्थापन गरेमा नेपाल पानीमा आत्मनिर्भर भई भारतको बिहारमा समेत स्वच्छ खानेपानी निर्यात गरी आर्थिक लाभ लिन सकिने उहाँको धारणा थियो ।
अहिलेको सरकारले खानेपानी मन्त्रालयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको र दातृ निकायहरू पनि सहयोगका लागि तत्पर रहेकाले अब काम तीव्र गतिमा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयलाई ११ अर्ब ३८ करोड रुपैयाँ बजेट आउने निश्चित भइसकेकाले त्यही अनुरूप प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी खानेपानीको समस्या समाधानमा लागिपरेको उहाँले बताउनुभयो ।