सत्ताविमुख भएपछि पहिलोपटक केन्द्रीय बैठकमा जुटेको नेकपा माओवादी केन्द्रले ६ महिनासम्म जनतामा पुग्ने अभियान चलाउने र त्यसपछि महाधिवेशनको तयारी गर्ने निर्णय गरेको छ।
माओवादीमा निर्वाचनबाट नेतृत्व चुनिनुपर्ने आवाज उठाइरहेको एउटा पक्षलाई यसले तत्कालका लागि थुमथुम्याएको छ। के माओवादी नेतृत्व परिवर्तनको बाटोमा अघि बढेको हो ?
तर कात्तिकमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा प्राप्त मतबाट उत्साहित माओवादी नेतृत्वप्रति पार्टी पंक्ति सन्तुष्ट भइसकेको छैन । पार्टी वैचारिक र सांगठनिक पक्षमा कमजोर भएको र जनाधार गुम्दै गएकोमा कतिपय माओवादी नेताहरु प्रष्ट छन्। यसप्रति नेतृत्वले आँखा चिम्लिएको उनीहरुको आरोप छ। के माओवादी नेतृत्व सच्चिने बाटोमा अग्रसर भएको हो ?
एमाले-कांग्रेसको गठबन्धन सरकारलाई प्रमुख प्रतिपक्षका रुपमा खबरदारी गर्नमा कमजोर साबित माओवादीमाथि प्रधानमन्त्री केपी ओलीले अराजकताको संवाहक भएको संगीन आरोप लगाएको छ । सरकारले अर्थतन्त्रले गति लिन नसक्नूको दोष पनि माओवादी नेतृत्वको यसअघिकै सरकारको नीतिमाथि थोपरिरहँदा माओवादीको अहिलेको रटानमा भने फेरि सुनिन थालेको छ, सरकार असफल भइसक्यो, अब गठबन्धन धेरै चल्दैन ।
करिब १८ महिना सरकारमा रहँदा एमाले र कांग्रेससँग आलोपालो गठबन्धन गरेको माओवादी के फेरि सत्तादेखि सत्ताको दौडमा सामेल हुन थालेको हो ?
फायरसाइडको आजको अंकमा हामी यीनै प्रश्नको जवाफ खोज्नेछौं र हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ।
यो पनि हेर्नुहोस :