काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व चयनका लागि निर्वाचन हुने विश्वास व्यक्त गर्नभएको छ ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै शर्माले माओवादीको इतिहासमै पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हुने बताउनुभएको हो ।
केन्द्रीय कमिटी बैठकले ६ महिनासम्म जनतासँग संवाद गर्ने अभियान चलाउने र त्यसपछिको ६ महिना महाधिवेशनको तयारी गर्ने निर्णय गरेको थियो। 'त्यो महाधिवेशनले प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्नेछ', शर्माले भन्नुभयो ।
शर्माले यसअघि पार्टीले कहिल्यै नगरेको अभ्यास आगामी महाधिवेशनमा हुने बताउनुभयो । आफूले राख्दै आएका धेरै माग अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनमार्फत् सम्बोधन गरेको शर्माको भनाइ छ ।
नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारको ६ महिनाको काममाथि टिप्पणी गर्दै शर्माले सरकारले कुर्सी थाम्ने कामबाहेक केहि नगरेको बताउनुभयो। 'माओवादीले सरकारमा हुँदा जे गरेको थियो, अहिले सरकारले त्यहि गर्दैछ?' भन्ने ‘फायरसाइड’को प्रतिप्रश्नमा शर्माले भन्नुभयो,'त्यहि रुपमा त नभनौं, तर अहिले सरकार छ कि छैन, गठबन्धन छ कि छैन? भन्नेजस्तो स्थिति छ।' आर्थिक रुपमा पनि मुलुकको अवस्था ओरालो गतिमा रहेको भन्दै शर्माले चिन्ता व्यक्त गर्नुभयो।
कार्यक्रममा शर्माले माओवादीले चाहेको रुपान्तरण, प्रधानमन्त्री केपी ओलीले माओवादीमाथि लगाउनुभएका आरोप, अर्थतन्त्रमा रहेका समस्या, पार्टीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको फिर्ति र भूमिकालगायतका विषयमा आफ्ना धारणा राख्नुभएको छ। साथै उर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्बीचको संघर्षका बारेमा पनि शर्माले टिप्पणी गर्नुभएको छ।
कार्यक्रम ‘फायरसाइड’ आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। साथै Kantipur TV App र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा पनि कार्यक्रम हेर्न सकिनेछ।