आन्दोलन र क्रान्ति नेपालका कम्युनिष्ट दलहरुका प्रीय शब्द हुन् । पुराना कम्युनिष्ट दल हुन् वा सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादी, वा माओवादी पार्टीबाट टुक्रिएर छिन्नभिन्न भएका स-साना कम्युनिष्ट घटकहरु । सत्तामा हुँदा होस् वा सडकमा, हरेक समय उनीहरुको नारामा नयाँ क्रान्ति छुट्दैन । तर ती नाराको वजन र प्रभाव जनस्तरमा न त प्रवाहित हुन्छ, यी दलले सही अर्थमा नारा अनुसारको व्यवहार गर्न सक्छन् । हुन पनि नेपाली समाजले त्यस्तो कुनै क्रान्ति पर्खिएको छ त ?
नयाँ संविधान जारी भएर कार्यान्वयनमा अघि बढेपछि दलहरुले सबैभन्दा धेरै वकालत गरेको आर्थिक क्रान्तिको कुनै छेकछन्द नेपाली जनताले महसुस गरेका छैनन् ।
समृद्धिको नारा भाषणमा छन्, नागरिकको भात-भान्सामा छैन । उसो त संविधान र व्यवस्थामाथि नै प्रश्न गर्नेहरु पनि छन् । तर ती प्रश्नहरु पनि भुत्ते छन् । कहिले सशस्त्र संघर्ष त कहिले सडक आन्दोलन, अनि कहिले जनमत संग्रहको मुद्दा लिएर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका नेता नेत्रविक्रम चन्द विप्लव सी बेलाबेला यस्तै केहि प्रश्नका साथ चर्चामा आउने गरेका छन्।
कुनै बेलाका आफ्नै नेता पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रसँग चन्दको पार्टीको एकता प्रयास कहाँ पुग्यो ? चन्दले भन्ने गरेको क्रान्ति कहाँ पुग्यो ? नेपाली विशेषताको समाजवादी व्यवस्थाको वकालत गर्ने चन्दको विचारको सान्दर्भिकता र औचित्य कति बाँकी ? फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नमा केन्द्रित हुनेछौं र आज हामीसँग हुनुहुन्छ-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ।
यो पनि हेर्नुहोस् :