काठमाडौं । श्रीलंकाले न्युजिल्यान्डविरुद्धको ३ खेलको टी-२० सिरिजको अन्तिम खेलमा ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै श्रीलंकाले क्लिन स्वीपबाट आफूलाई जोगाएको छ । श्रीलंकाको जितमा कुशल परेराले शतकीय योगदान दिए । तर घरेलु टोली न्युजिल्यान्डले सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो ।
स्याक्सटन ओभल, नेल्सन भएको खेलमा न्युजिल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । श्रीलंकाको सुरुवात खराब रह्यो । टिमले पावर प्लेमा ६ ओभरमा ४९ रन बनाएर २ विकेट गुमाएको थियो । इनिङ्सको तेस्रो ओभरमा म्याट हेनरीले पाथुम निसान्कालाई प्याभिलियन पठाए भने पाँचौं ओभरको अन्तिम बलमा मिचेल सान्टनरले कुशल मेन्डिसलाई माइकल ब्रेसवेलको हातमा क्याच गराए ।
निसान्का १४ रन र मेन्डिस २२ रन बनाएर आउट भए । मिडिल ओभरमा ८३ रनको स्कोरमा तेस्रो विकेटको रुपमा अविष्का फर्नान्डो १७ रनमा आउट भए । त्यसपछि कुशल परेरा र कप्तान चरिथ असालान्काले १ सय रनको शतकीय साझेदारी गरे । असालान्का ४६ रनमा बाहिरिए । परेराले ४६ बलमा १३ चौका र ४ छक्काको मद्दतमा १ सय १ रनको आक्रमक इनिङ्स खेले । न्युजिल्यान्डका पाँच जना बलरले १-१ विकेट लिए ।
जवाफमा न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन मात्र जोड्न सक्यो । २ सय १९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई बलियो सुरुवात गरेको थियो । टिम रोबिन्सन र रचिन रविन्द्रले ४५ बलमा ८१ रनको ओपनिङ साझेदारी गरे ।
टिमले पावर प्लेमा ६ ओभरमाबिना नोक्सान ६३ रन बनाएको थियो । ओपनिङ पार्टनरसिपलाई अविष्का फर्नान्डोले तोडिन् । उनले रोबिन्सनलाई वैकल्पिक फिल्डर कमिन्दु मेन्डिसको हातबाट ३७ रनमा क्याच गराए । न्युजिल्यान्डको मिडिल अडर भने चल्न सकेन । ८ ओर ४ बलमा दोस्रो विकेट गुमाउँदा ९४ रन बनाइ सकेको न्युजिल्यान्डले बलियो सुरुवातको फाइदा उठाउन सकेनन् ।
रचिन रविन्द्रले ३९ बलमा ६९ रन र ड्यारेल मिचेलले ३५ रन जोड्नु बाहेक अन्य ब्याटर चल्न सकेनन् । टोलीले अन्तिम ५ ओभरमा ४३ रन मात्र बनाएपछि हारको सामना गर्नु पर्यो । श्रीलंकाका चरित असालान्काले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच कुशल परेरा भए । ज्याकब डफी प्लेयर अफ द सिरिज चुनिए । डफीले ३ खेलमा ८ विकेट लिएका थिए । अब दुई देशले आइतबारबाट ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछन् ।