'महानगर महाबहस'मा विराटनगरका प्रमुख- बजेट नै कम छ, कसरी पूरा गर्नु असीमित चाहना ?

पुस ४, २०८१ |विजय पौडेल
 'महानगर महाबहस'मा विराटनगरका प्रमुख- बजेट नै कम छ, कसरी पूरा गर्नु असीमित चाहना ?

विराटनगर । विराटनगर महानगरपालिकाका सरोकारवालाले नगर प्रमुख नागेश कोइरालालाई शिक्षा, सरसफाइ, खानेपानी र व्यावसायिक वातावरण बनाइ रोजगारी बढाउन आग्रह गरेका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘महानगर महाबहस’मा सहभागी विराटनगर महानगरपालिकाका उद्योगी-व्यवसायीले भएकै उद्योगसमेत टिकाउन कठिन भएको बताएका छन् । उनीहरुले किनमेलका लागि उपभोक्ता सीमापारि नै पुग्ने परिपाटीले विराटनगरको व्यापार-व्यवसाय धरासायी बन्दै गएको चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले विराटनगरमा भारतीय पर्यटक आउने प्रवेशनाका जोगबनी क्षेत्रमा सडक सुधार हुन नसकेको र फोहोरले अस्तव्यस्त बनेको भन्दै गुनासो गरे । यसैगरी, विराटनगरमा ट्राफिक व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणमा जोड दिनुपर्ने नागरिकको सुझाव थियो ।

कार्यक्रममा सरोकारवालाहरुले महानगरले दलित र पिछडीएको समुदायका लागि थप बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । महानगर प्रमुख नागेश कोइरालाले कार्यक्रममा आएका प्रश्न र सुझाव सकारात्मक भएको बताउँदै बजेट र स्रोत-साधनको कमीले गर्दा जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भयो । उहाँले नगरबासीको अपेक्षा अनुसार काम गर्न आफू दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रम महानगर महाबहसमा सहभागीहरुले महानगरपालिकामा सामुदायिक विद्यालयको सुधार, फोहोर व्यवस्थापन र खानेपानी वितरणमा दीर्घकालीन सोचका साथ अघि बढ्न महानगर प्रमुखलाई सचेत गराएका छन् ।

विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् :


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement