काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘कुनै पनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या के छ भने हामी लहडको भरमा निर्णय लिन्छौं । योजना बनाउँछौं, परियोजना तय गर्छौं, लगानी गर्छौं तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन ।'
उहाँले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गर्नुभयो । उहाँले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गर्नुभयो । भैरहवा विमानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताउनु भयो । उहाँले काठमाडौस्थित त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गर्नुभयो ।