प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बितेका ५ महिना एमाले-कांग्रेसको गठबन्धनमा बनेको सरकारलाई लगातार लगाइरहेको आरोप हो – संविधान संशोधन बहाना हो, बरु यो सरकार विचौलिया र दलालले बनाइदिएका हुन् । जवाफमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली भन्नुहुन्छ – भ्रष्टाचारीको संरक्षक नै माओवादी हो ।
सत्ता पक्ष र प्रतिपक्षबीचको जुहारीका बीच भ्रष्टाचार भने हुर्किइ नै रहेको छ । नागरिकले सुशासनको महसुस गर्न सकेका छैनन् । स्वयं प्रधानमन्त्री सरकारको कामप्रति सन्तुष्ट हुनुहुन्न । प्रमुख प्रतिपक्षी दलको हैसियतमा माओवादी भने सरकारलाई इमान्दार खबरदारीभन्दा सरकार र सरकारमा रहेकाहरुलाई आरोपित र लाञ्छित गर्नमा केन्द्रित छ । के माओवादीलाई फेरि सत्तारोहणकै हतार भएको हो ? स्थानीय तहको उपनिर्वाचनमा अपेक्षाभन्दा बढी सिटमा प्राप्त जितले उत्साहित माओवादी अब ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दाबी गर्दैछ ।
तर माओवादीको संगठन कमजोर छ, शीर्ष नेतृत्वमा फाटो छ, नेता कार्यकर्तामा विचलन छ । यसले माओवादीका आफ्नै दाबीहरु कमजोर देखिन्छन् । जसरी सरकार र सत्तारुढ दलहरु प्रश्नहरुको घेरामा छन्, प्रतिपक्षी दल पनि उत्तिकै प्रश्नको घेरामा छ । फायरसाइडको आजको अंकमा हामी प्रमुख प्रतिपक्षी दलमाथिका प्रश्नमा केन्द्रित हुनेछौं । आज हामीसँग हुनुहुन्छ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ।
विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् :