कारबाहीपछि बिन्दा पाण्डे : कारबाहीको ६ महिनामा अर्को किताब लेख्छु !

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कारबाहीपछि बिन्दा पाण्डे : कारबाहीको ६ महिनामा अर्को किताब लेख्छु !
काठमाडौं । सत्तारुढ नेकपा एमालेका स्थायी समिति सदस्य बिन्दा पाण्डेले आफुले पार्टीको नीति र विधान अनुरुप नै बोलेको बताउनु भएको छ । 

कान्तिपुर समाचारसँग कुरा गर्दै उहाँले आफु पार्टी हित र लोकतन्त्रका लागि पटक-पटक स्पष्टिकरण दिन पनि तयार रहेको पनि प्रष्ट पार्नुभयो । ‘मैले कमजोरी गरेकै छैन भने कमजोरीको महसुस कसरी गर्ने ? जनताको बहुदलीय जनवादले फरक विचारलाई सम्मान गर्ने नीति लिन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले अनुशासनको नामको डन्डाका कारण पार्टीभित्र कसैले बोल्ने आँट नगरेको र पार्टी थप वेथितितर्फ अघि बढेको बताउनुभएको छ । पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई अनुशासनको डन्डा लगाएर निस्तेज पार्ने गरिएको उहाँको टिप्पणी छ ।

उहाँले पार्टीभित्र बहुसंख्यक पदाधिकारी र नेताहरु पार्टीको निर्देशनको विपक्षमा रहेपनि बोल्न डराउने गरेको बताउनुभयो । ‘पार्टीबाट डन्डा चल्छ भनेरै पार्टीका धेरै नेता कार्यकर्ताले नबोलेका हुन् । पदमा नहुँदा पार्टीमा लोकतान्त्रिक विधि स्थापित गर्नुपर्छ भनेर जसले पार्टी पंक्तिलाई प्रशिक्षित गर्‍यो, उहि पदमा पुग्दा आफूले भनेकै कुरामात्र स्थापित हुनुपर्छ भन्ने प्रवृत्तिले पार्टी पंक्ति चिन्तित छ,’ पाण्डे भन्नुभयो ।

उहाँले मिनबहादुर गुरुङबाट दान लिएर पार्टीको भवन बनाउने सचिवालयको नाममा भएको निर्णय पार्टीको नीति, विधि र पद्धतिविपरित रहेको दोहोर्‍याउनु भयो । साथै उहाँले नेकपा एमालेलाई जनताको बीचमा स्थापित गर्ने हो भने पार्टीको मार्गनिर्देशक सिद्धान्तमै बहस गर्नुपर्ने स्थिति पैदा भएको बताउनु भयो ।

साथै उहाँले भीम रावललाई पार्टीबाट निष्कासन गरेको सम्बन्धमा पनि पनि टिप्पणी गर्दै पार्टी नेतृत्व माथि प्रश्न गर्नुभयो- आफू चुनावमा लड्दा लोकतान्त्रिक, अनि आफ्नो विरुद्धमा चुनाव लड्दा चाहिँ पार्टीबाटै निष्कासन ?

उहाँले पार्टी नेतृत्वमा राणाशासनको धङधङी हट्न नसकेको बताउनु भयो । साथै पार्टीको कारबाहीमा पर्नुभएकी पाण्डेले जिम्मेवारी नहुँदा पार्टीको काम गर्न नरोकिने बताउनु भयो । साथै उहाँले दुई महिनाभित्रमा एउटा किताब प्रकाशित गरेर लगतै ६ महिना सकिँदै गर्दा अर्को एउटा नयाँ किताब लिएर आउने योजना सुनाउनु भयो ।

एमाले केन्द्रीय सचिवालयको हिजोको बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहित स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको थियो । रावललाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ भने पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement