फायरसाइडमा शेखर कोइरालालाई प्रश्न - सरकारको आलोचना किन ?

मंसिर ३, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा शेखर कोइरालालाई प्रश्न - सरकारको आलोचना किन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका सम्बन्धमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणीलाई गलत र हास्यास्पद भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भारतसँग चाइना कार्ड खेल्न खोजेको भन्ने दाहालको टिप्पणीबारे नेपाली कांग्रेसले कुनै प्रतिक्रिया नजनाएको प्रति कोइरालाले आश्चर्यसमेत प्रकट गर्नुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै कोइरालाले दाहालले गलत कुरा गरेर भ्रम फैलाउन खोजेको टिप्पणी गर्नुभयो ।

कोइरालाले प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा चीनसँग उसको बीआरआई परियोजनाबारे स्पष्ट संवाद गर्न परराष्ट्रमन्त्री आरजु देउवालाई सुझाव पनि दिनुभयो । पार्टीको आगामी नेतृत्वका लागि सभापति देउवाले महामन्त्री गगन थापालाई नै तयार गरे पनि आफूलाई फरक नपर्ने भन्दै पार्टी जोगाउन भने आफूले मात्रै सक्ने दाबी गर्नुभयो ।

सरकार गठनको ३ महिना नपुग्दै सरकारको कार्यशैलीप्रति लगातार असन्तुष्टि प्रकट गरिरहनुको कारणबारे सोधिएको प्रश्नमा संविधान संशोधनको मुद्दा, सुशासन, अर्थतन्त्रमा रहेका समस्यालगायतका विषयमा सरकारले काम नै गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । कार्यक्रम फायरसाइडमा कोइरालालाई महामन्त्री गगन थापासँगको सम्बन्धदेखि कांग्रेसको अर्को वर्ष हुनुपर्ने महाधिवेशनको तयारीसम्मका विषयमा प्रश्न गरिएको छ ।

कार्यक्रम फायरसाइडको पूरा भाग भिडियोमा :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement