सरोकार : बाढी-पहिरोको विपत्तिका बेला किन बेपत्ता भयो सरकार ?

आश्विन १६, २०८१ |विकास थपलिया
सरोकार : बाढी-पहिरोको विपत्तिका बेला किन बेपत्ता भयो सरकार ?

काठमाडौं । देशमा बाढीपहिरो र डुवानले विध्व‌ंश मच्चाएको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्कनुभयो ।

महासभामा सहभागी हुन असोज ४ गते अमेरिका भ्रमणमा गएको एक सातापछि देशमा प्राकृतिक विपत् आयो । भारी वर्षाले ठूलो जनधनको क्षति हुँदा देश र नागरिकले आफ्ना अभिभावक खोजिरहेका थिए । तर, प्रधानमन्त्री भने आफ्नो १० दिन भ्रमण तालिका पूरा गरेर स्वदेश फर्किंदा खराब मौसमका कारण दुई दिनसम्म रोकिएका र सडक अवरुद्ध भएपछि हवाई यात्रा रोजेका यात्रुले विमानस्थल खचाखच थियो ।

देशमा प्रकृतिक विपत् परेका बेला प्रधानमन्त्री अमेरिका भ्रमणमा मस्त रहेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । त्यसमाथि विमानस्थल बन्द गरेर भव्य रूपमा स्वदेश फर्किएको भन्दै झन् असन्तुष्टि बढ्यो ।

काठमाडौं उपत्यका भित्रिने राजमार्गहरू अवरुद्ध हुँदा हवाई यात्रुको चापकाबीच प्रधानमन्त्री विमानस्थल आधा घण्टा बन्द गरेर स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्रीको आगमनका लागि नोटाम अर्थात भीभीआईपीबाहेक अन्य कुनै पनि उडान–अवतरण गर्न नपाइने आदेश जारी गरेर आधा घण्टा विमानस्थल नै बन्द गरिएको थियो । विपदले करिब २ सयको ज्यान लिइसकेपछि स्वदेश फर्किनुभएका प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारको प्रश्नको जवाफमा जे भन्नुभयो, त्यसले राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न उब्जाइदियो । 

प्रधानमन्त्रीले स्वदेश फर्किए पछि पत्रकार प्रश्नको जवाफमा जल तथा मौसम विज्ञान विभागले वर्षाको पूर्वाअनुमान भने पनि यो ठाउँमा पहिरो जान्छ नभनेको अनौठो जवाफ दिनु भयो ।

प्रधानमन्त्रीले अब आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने पनि दाबी गर्नुभएको छ ।

अहिलेसम्मको ढिलासुस्तीका लागि सरकारको जवाफदेहिता त छँदैछ, अब राहत, क्षतिपूर्ति र पुनर्वासका लागि हुने प्रगतिले पनि सरकारको समीक्षा गर्नेछ । विपद्का बेला प्रधानमन्त्री मात्रै होइन, सरकारका जिम्मेवार अधिकारीहरुले पनि जनताको साथमा थिएनन् । कर्मचारीहरुका प्रमुख, मुख्य सचिव गृह जिल्ला स्याङजामा बाजागाजासहित मुख्य सचिवमा नियुक्ति पाएको खुशियाली मनाउँदै थिए । प्रहरी प्रमुखलाई आफ्नो कार्यक्रम सकेर फर्किने फुर्सद भएन । अर्थमन्त्री चिन भ्रमणमा हुनुहुन्थ्यो ।

नागरिक अप्ठ्यारोमा पर्दा सबैभन्दा पहिले सम्झिने सरकार नै हो । गत शुक्रबार र शनिबारको भारी वर्षा र त्यसबाट सिर्जित बाढी, पहिरो तथा डुबानले आक्रान्त बनेका नागरिकले पनि सरकार नै सम्झिए । तर, विकट बस्ती मात्र होइन, संघीय राजधानी काठमाडौंकै बासिन्दाले पनि पूर्ण रूपमा सरकार भएको अनुभूति गर्न सकेनन् । सरकारको गति यति सुस्त भयो कि, ऊ सहयोगको याचना गरिरहेका नागरिकको छेउमा पुग्नै सकेन । आजको सरोकार विपत्तिका बेला बेपत्तामा भएको सरकारमाथि केन्द्रित छ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement