'सरोकार'मा सहकारीपीडितको रुवाबासी : जीबी र रविका साझेदार छवि पक्राउपछि कुन मोड लेला अनुसन्धानले?

आश्विन ९, २०८१ |विकास थपलिया
'सरोकार'मा सहकारीपीडितको रुवाबासी : जीबी र रविका साझेदार छवि पक्राउपछि कुन मोड लेला अनुसन्धानले?

काठमाडौं । सहकारी बचत दुरुपयोगको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । तर, समितिको प्रतिवेदनलाई राजनीतिक स्वार्थका आधारमा आ–आफ्नै ढंगले व्याख्या हुँदै आएको छ । खासगरी लामिछाने र रास्वपाका नेता तथा कार्यकर्ताले सहकारीको रकम दुरुपयोग गरेको पुष्टि नभएकाले ‘क्लिन चिट’ पाएको रूपमा अर्थ्याएका छन् । कांग्रेस–एमालेसम्बद्ध नेता कार्यकर्ताहरूले भने रवि दोषी पाइएको भन्दै तत्काल कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।

यसबीच गृहमन्त्री रमेश लेखकले संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै प्रहरीले आइतबार छविलाई पक्राउ गरेको छ  । जीबी, रवि र छविको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो  । यो प्रकरणमा प्रहरीले छविविरुद्ध ठगी र संगठित अपराधका अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ । तर, रवि पक्राउ परेका छैनन् भने जिबी राई फरार छन् । कुमार रम्तेल अहिले पुर्पक्षका लागि थुनामै छन् ।

गोरखा मिडिया नेटवर्कका एक सञ्चालक छवि पक्राउपछि रविले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई बसेर संवाद गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्– 'न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ । सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...।'

जीबी र रविका साझेदार छवि पक्राउपछि के हुन्छ? यो सरकारले पूर्वउपप्रधान एवम् गृहमन्त्री रविमाथि कस्तो व्यवहार गर्ला ? नैतिक र कानुनी रुपमा कति बलियो छन् रवि ? रविले क्लिन चिट पाएका हुन् वा उनीमाथि कारवाहीको सिफारिस ? सत्य-तथ्य के हो ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौँ र हामीले स्टुडियोमा निम्त्याएका छौँ- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक, श्यामकुमार घिमिरे; प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसपी होविन्द्र वोगटी र सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ) का अध्यक्ष कुशलव केसी । 

साथै आजको कार्यक्रममा सहकारीमा बचत गरेको आफ्नो रकम अपचलनमा परेपछि पछिल्लो केही महिनायता सडकबाट हारगुहार गरिरहेका केही पीडित नागरिक पनि सहभागी हुनु भएको छ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement