चलचित्रमा अवसर नपाएको भए म रेल स्टेसनमा अभिनय गर्दै हुन्थेँ : नवाजुद्दीन सिद्दीकी

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
चलचित्रमा अवसर नपाएको भए म रेल स्टेसनमा अभिनय गर्दै हुन्थेँ : नवाजुद्दीन सिद्दीकी

काठमाडौं । भारतीय कलाकार नवाजुद्दीन सिद्दीकीले हरेक चलचित्र उद्योगमा बन्ने चलचित्रले कुनै न कुनै प्रकारका राजनीति गर्ने बताउनुभएको छ । कुनै चलचित्रले नागरिकका पक्षमा बोल्छन् भने कुनैले सरकार वा शक्तिका पक्षमा बोल्ने उहाँको भनाइ छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडलाई दिएको अन्तर्वार्तामा ग्याङ्स अफ वासेपुर फेम्ड सिद्दीकीले समाजका अन्य पेसा र उद्योग जस्तै सिनेमा उद्योग पनि राजनीतिबाट मुक्त नरहेको धारणा राख्नुभयो ।

नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि काठमाडौं आएका सिद्दीकीले आफूलाई साम्बालाले प्रभावित पारेको र यसले नेपाली चलचित्रमा काम गर्ने इच्छा जागेको पनि बताउनुभयो ।

अभिनयप्रतिको आफ्नो प्रेमका बारेमा बोल्दै सिद्दीकीले चलचित्रमा अवसर नपाएको भए पनि अभिनयलाई नछोड्ने बताउनुभयो । ‘म चलचित्रमा नआएको भए सडकमा, स्टेजमा वा रेल स्टेसनमा अभिनय गरिरहेको हुने थिएँ,’ सिद्दीकीको भनाइ छ । अभिनयप्रतिको लगावकै कारण आफू बलिउडमा स्थापित हुन सकेको उहाँको बुझाइ छ।

सफल मानिसहरुप्रतिको समाजको धारणा राख्दै उहाँले भन्नुभयो, ‘हरेक मानिस सफल हुन चाहन्छ तर अधिकांश मानिस भने सफल मानिसलाई घृणा गर्छन् । किन हो, मलाई थाहा छैन ।’

सन् २०१२ मा सार्वजनिक भएको अनुराग कश्यप निर्देशित चलचित्र ग्याङ्स अफ वासेपुरबाट चर्चामा आएका सिद्दीकीले १९९८ मा आमिर खान अभिनित सरफरोसबाट फिल्मी करिअर सुरु गर्नुभएको हो । लामो समयसम्म ठूला चलचित्रमा स-सानो भूमिकामा सीमित सिद्दीकीले २००५ मा ब्ल्याक फ्राइडे खेलेको छोटो भूमिकाबाटै आफूलाई अब्बल प्रमाणित गर्न सफल हुनु भएको थियो । 

भारतीय सिनेमामा अभिनयकै बलमा स्थापित सिद्दीकीले ठाकरे, माझी द माउन्टेन म्यान, मन्टोजस्ता वायोपिकमा मात्र नभएर सलमान खान अभिनित किक र बजरंगी भाइजानजस्ता कमर्सियल चलचित्रमा पनि अभिनय गर्नु भएको छ । यस्तै ओटीटीमा सेक्रेड गेम्समा सिद्दीकीको प्रभावशाली अभिनय हेर्न पाइन्छ ।

काठमाडौं आएको मौकामा फायरसाइडमा सिद्दीकीसँग गरिएको अन्तर्वार्ता :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement