काठमाडौं । सेयर विश्लेषकहरु भन्छन्, 'सेयर बजारको बुल मार्केट 'पागल प्रेमी' झैं हुन्छ ।' यतिबेला सेयर बजारमा उछाल आइरहेको छ । पछिल्लो समय कारोबार रकम र सेयर बजार परिसूचक नेप्सेले हरेक दिन नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन् ।
१८ सय विन्दुमा पुगेको नेप्से २९ सय विन्दु पार गर्दै अघि बढ्यो भने एकै दिन २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भइसकेको छ । करेक्सन स्वीकार्न तयार नभएको बजारमा ननपर्फर्मिङ' कम्पनीहरुको समेत सेयर भ्यालु बढिरहेको छ । यही बेला मूल्यलाई उचाल्दै लैजाने र एकमुष्ट बेचेर बजारबाट लैजाने पम्प एन्ड डम्प गर्नेहरुले पनि मुन्टो उठाउन थालेका छन् ।
कम्पनीहरुको बुक भ्यालू, लाभांस, एसेट जस्ता पक्षको विश्लेषण नगरी सेयर मूल्य कर्नरिङ गरेर अस्वाभाविकरुपमा बढाउँदै सर्वसाधारण लगानीकर्ता ठगिने सम्भावना पनि उत्तिकै छ । नेप्सेमा सूचीकृत २४८ वटा कम्पनीमध्ये ७३ वटा कम्पनीले अहिलेसम्म पनि लगानीकर्तालाई लाभांश दिएका छैनन् । तर पनि तिनै कम्पनीको मूल्य प्रतिकित्ता औसतमा ५५७ रुपैयाँ पुग्नुले पनि यो तथ्यको पुष्टि गर्छ ।
हल्लाकै भरमा किन हल्लिन्छ नेप्से ? मन्त्री, नेताका बोली र समाचारकै आधारमा किन हुन्छ हलचल ? किन ३२ सय विन्दुबाट १८ सयमा झरेको बजार तीन वर्षसम्म किन त्यहीँ अड्कियो ? सेयर बजारको कीर्तिमानी वृद्धि कति स्वभाविक ? के यो बुल बजार हो ? बुल बजारमा विष्णु पौडेल फ्याक्टरको चर्चा के हो ? किन बढीरहेको छ ननपर्फर्मिङ' कम्पनीहरुको पनि सेयर भ्यालु ? कति अंकसम्म पुग्न सक्छ सेयर बजार ? यिनै विषयमा बहस गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ-नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपाल,सेयर विश्लेषक मुक्ति अर्याल र सेयर लगानीकर्ता एवं विश्लेषक अम्बिका पौडेल ।