
रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीलाई युनेस्कोको सुझाव कार्यान्वयन भइरहेका सम्पदामैत्री कामको अवलोकन गराइएको छ ।
यसले लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूचीमा राख्न नहुने धारणा बनाउन मद्दत पुग्ने विश्वास छ । सम्मेलनका सहभागीलाई बुद्ध जन्मस्थल लुम्बिनी र शाक्यवंशीय राजधानी तिलौराकोटको स्थलगत भ्रमण गराएर यहाँको महत्त्व उजागर गर्ने प्रयाससमेत गरिएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी विशेषज्ञहरूलाई स्थलगत अवलोकनका क्रममा लुम्बिनी र तिलौराकोटकाबारेमा भएका वैज्ञानिक अध्ययन अनुसन्धान र त्यसबाट आएका परिणामबारे जानकारी दिइयो । लुम्बिनीलाई विश्व सम्पदास्थलको सम्भावित खतराको सूचीमा नराख्न गर्नुपर्ने कामको प्रगति पनि यो टोलीले अवलोकन गर्यो ।
शाक्यवंशीय राजधानी तिलौराकोटलाई विश्व सम्पदास्थलमा सूचीकृत गराउन सरकारले गरेको प्रयासबारे जानकारी दिने अवसरका रूपमा पनि यसलाई सदुपयोग गरियो । सम्मेलनका सहभागीलाई लुम्बिनीमा भइरहेको सम्पदामैत्री संरक्षणको प्रयास र सुधारका कामबारे बेलायतको डुर्हाम विश्वविद्यालयका पूर्वउपकुलपति तथा वरिष्ठ पुरातत्वविद् डा. रबिन कनिङघमले जानकारी दिएका थिए ।
१२ वर्षदेखि तिलौराकोटमा भइरहेको उत्खनन्ले पर्याप्त प्रमाण पाइएपछि विश्वसम्पदास्थलमा सूचीकृत गर्न मनोनय दस्तावेज पेस गरिए पनि २०२५ को युनेस्को छलफलमा सूचीकृत हुन नसकेको थिएन । यहाँ गरेका अध्ययन अनुसन्धानले तिलौराकोट विश्वसम्पदास्थलमा सूचीकृत हुन पर्याप्त आधार प्रमाण पुगेको सहभागीलाई बुझाइएको थियो ।
गत वर्ष कात्तिकमा लुम्बिनीमा सम्पन्न ईकोमसको ६०औँ महासभा र अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले लुम्बिनीलाई सम्भावित खतराको सूचीमा पर्नबाट जोगाउन निक्कै सहयोग पुर्याएको थियो । अहिलेको सम्मेलन पनि तिलौराकोटको सूचीकरणका लागि सहयोगी हुने विश्वास छ ।
लुम्बिनीमा युनेस्कोको सुझाव कार्यान्वयनको प्रगतिबारे बुझ्न यो सम्मेलनमा ईकोमस अस्ट्रेलियाका अन्तर्राष्ट्रिय सम्पदाविज्ञ डा. माइकल पियर्सन आएका थिए । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार ईकोमस इन्टरनेसनलले सम्मेलनमा सहभागिताका लागि लुम्बिनी बुझेका विशेषज्ञलाई पठाउनुले नेपाललाई महत्त्व दिएको बुझिन्छ ।
त्यस्तै तिलौराकोटलाई पनि फेरि विश्वसम्पदाका लागि नोमिनेसन डोसियर पेस गरेर अघि बढन पनि सम्मेलन सहयोगी बनेको छ । सम्मेलनमा इन्डाेनेसिया, भारत, श्रीलंका, म्यानमार, बेलायत, जापान, पाकिस्तान, थाइल्यान्ड र अस्ट्रेलियासम्मका २५ भन्दा बढी विदेशी पुरातत्वविद्, सम्पदाविद्, बौद्ध विद्वान् र अनुसन्धानकर्ता सहभागी थिए ।
त्यस्तै २५ भन्दाबढी विज्ञ र अनुसन्धानकर्ता अनलाइनमार्फत सहभागी भए । त्यस्तै भिक्षु भिक्षुणी, विकास साझेदार निकाय, नीति निर्माता र स्थानीय सरोकारवालासहित एक सय जना सहभागी थिए ।