सरोकार : वाइडबडीदेखि चाइना, चेज र धमिजासम्म ७ काण्ड : डुब्दै छ वायुसेवा निगम ?

सांसद भन्छन्- वाइडबडीको ‘बिल’ कहाँ छ ?
चैत्र २७, २०८० |कान्तिपुर टीभी संवाददाता
सरोकार : वाइडबडीदेखि चाइना, चेज र धमिजासम्म ७ काण्ड : डुब्दै छ वायुसेवा निगम ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित वाइडबडी विमान खरिद प्रक्रियामा झन्डै डेढ अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेसँगै यो प्रकरण पुन: चर्चामा छ ।

अख्तियारले त्यसबेलाका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीदेखि पूर्वसचिवहरु शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३० जनाभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । बहालवाला सहसचिव बुद्धिसागर लामिछानेसमेत यही प्रकरणमा परेका छन् । यसबाहेक केही विदेशी कम्पनी समेतलाई प्रतिवादी बनाइएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम स्थापना २०१५ सालमा भयो । सुरुवाती लागत थियो ३८ लाख रुपैयाँ । २०५० सालतिर ४ बोइङ, ३ एभ्रो, ११ ट्विनअटर र १ पिलाटस पोटर जहाज थिए । त्यतिबेला दक्षिण एसियाकै उत्कृष्ट वायुसेवाका रूपमा नाम थियो, सान थियो । तर, ०७८/७९ सम्म आइपुग्दा निगम यसरी थला पर्‍यो कि, यसको थाप्लोमा ४८ अर्ब तीन करोड ऋणको भार छ । लाउडा, धमिजा र चेज एयरजस्ता काण्डै-काण्ड खेपेको नेपाल वायुसेवा निगमले पछिल्लोपटक वाइडबडी प्रकरण खेप्नुपरेको छ ।

२३ अर्ब ७७ करोडका दुई वाइडबडी खरिद गर्दाएक अर्ब ४७ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ भने संसद्को लेखा समिति भन्छ- चार अर्ब ३५ करोडभन्दा बढी घोटला भएको छ । महालेखा परीक्षक कार्यालयले भने साढे ६ अर्ब ३० करोडको बेरुजु देखाएको थियो ।

लेखाको अनुसन्धान प्रतिवेदनले तत्कालीन पर्यटन सचिव एवं हालका अख्तियार प्रमुख प्रेमकुमार राई पनि दोषी रहेको ठहर गरे भने चार्जसिटबाट उनको नाम हटाइएको छ । वाइडबडी मामिलामा हाल मुद्दामा प्रतिवादी बनाइएका बाहेकका अन्य तीन पूर्वमन्त्रीको पनि नाम मुछिएको थियो ।

के हो वाइडबडी प्रकरण ? कसरी भयो भ्रष्टाचार ? अख्तियारको अनुसन्धान प्रतिवेदनमा म्याच फिक्सिङ भएको हो ? लेखा समितिको छानबिनलाई अख्तियारको अनुसन्धानले नजरअन्दाज गरेको हो ? के हाम्रो एक मात्र ध्वजावाहक डुब्दै छ ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौं ।

प्रस्तुत छ- प्रतिनिधिसभा सदस्य एवं वाइडबडी जहाज ल्याउँदाको अनियमितताबारे अध्ययन गर्न २०७५ सालमा गठन गरिएको उपसमितिका सदस्य प्रदीप यादव, नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति संयोजक एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र वाइडबडी घोटला प्रकरणमा खोज पत्रकारिता गरेका पत्रकार दीपक अधिकारीसँग आजको सरोकार ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.