काठमाडौं । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले विधेयक नदिए एक मिनेट पनि हाउस अगाडि नबढ्ने बताएका छन् । सचेतक बर्तौलाले आज बिहान कान्तिपुर समाचारमा कुराकानी गर्दै सरकारले भूमिका नदिए सांसदहरूले चाहेर पनि कुनै काम गर्न नसक्ने बताए ।
संसद्को हिउँदे अधिवेशन भोलि सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि चिनिन्छ । संघीय संसद्ले यो अधिवेशनमा थुप्रै कानुन बनाउनुपर्ने छ । तर, सरकारले त्यसका लागि आवश्यक विधेयक भने संसद्मा लैजानै सकेको छैन ।
यसअघिको अधिवेशनमा पेस भएका विधेयक पनि संसदीय समितिमै विचाराधीन छन् । एकातिर सरकारले संसद्लाई बिजनेस दिन नसक्ने र अर्कातिर संसद् आफैँले पनि तत्परता नदेखाउने अवस्थाले यो अधिवेशन पनि केबल आरोप प्रत्यारोप र भाषणबाजीमा बित्ने सम्भावना बढेको छ ।
सदन गतिहीन बनिरहँदा प्रमुख प्रतिपक्षी दल एमालेले के गरिरहेको छ ? यो अधिवेशन पनि एमालेकै अवरोधको सिकार हुने त होइन ? सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको धारणा के ? यिनै विषयमा सचेतक बर्तौलासँग सहकर्मी विनय कुमारले गरेको कुराकानी हेर्नुहोस् ।