कान्तिपुर सरोकार : आखिर किन देशमै बस्न चाहँदैनन् नेपालीहरू ?

माघ २, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर सरोकार : आखिर किन देशमै बस्न चाहँदैनन् नेपालीहरू ?

एयरपोर्टमा विदेश जानेको भिड देख्ने बित्तिकै हामी भन्छौँ- सारा नेपाली विदेश पलायन भइरहेका छन्, देश खाली हुने भो । हुन पनि, एक वर्षमै १६ लाखभन्दा बढी नेपाली बिदेसिएका छन् । ८ लाख जना काम खोज्दै उड्दा ७१ हजारले सधैँका लागि देश छाडेका छन् । शिक्षाका नाममा ५ महिनामै २९ अर्ब बाहिरिएको छ ।

अध्यागमन विभागको एक वर्षको तथ्याङ्क हेर्ने हो भने रोजगारी र अध्ययन जत्तिकै सङ्ख्यामा विदेश घुम्न जाने पनि छन् । तर विदेशमै स्थायी बसोबासका लागि जानेको सङ्ख्या वार्षिक झन्डै ७१ हजार छ र यो तथ्यांकले सोच्न बाध्य भने बनाउँछ । 

सबैभन्दा धेरै नेपाली रोजगारका लागि बिदेसिने गरेका छन् । सन् २०२३ मा १६ लाख ३ हजार नेपाली बिदेसिँदा त्यसको आधा अर्थात् ८ लाख ८ हजार नेपाली काम गर्न विदेश उडेका छन् । श्रमका लागि अधिकांश युवा संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, लगायतका मुलुकमा गएका छन् । 

रोजगारीबाहेक घुम्न र पारिवारिक भेटघाटका लागि विदेश जाने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । २०२३ मा २ लाखभन्दा बढी नेपाली घुम्न र तीर्थयात्राका लागि बिदेसिए भने परिवार र आफन्त भेट्न विदेश जानेको सङ्ख्या १ लाख ६७ हजार छ । 

गत वर्ष १ लाख १२ हजार ७ जनाले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र-एनओसी लिएकोमा २०२३ मा १ लाख ६७ हजार ४ सय ८५ विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । 

सन् २०२३ मा नेपालीहरू २ सय २२ मुलुकमा गएका छन् । युद्धग्रस्त रुस पुग्ने नेपाली १ हजार ७ सय ९५ छन् भने ९५ जना युक्रेन पुगेका छन् । अझ स्थायी रूपमै बसोबास गर्न विदेश जानेको सङ्ख्या ७० हजारभन्दा बढी रहेको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ जुन गम्भीर विषय हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.