एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपमा नेपाल र मलेसियाबीचको प्रतिस्पर्धा जारी

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपमा नेपाल र मलेसियाबीचको प्रतिस्पर्धा जारी

काठमाडौं । एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

क्वालालाम्पुरस्थित सेलेगंर टर्फ क्लबमा केहीबेर अघि सुरु खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । साविक विजेता नेपाल जारी प्रतियोगितामा अपराजित छ । विपिन शर्माको कप्तानीमा रहेको नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । नेपालले समूहका चार खेलमा नै जीत हात पारेको थियो । उसले सिंगापुरलाई ६ र जापानलाई ९ विकेटले पराजित गरेको थियो । 

 इन्डोनेसियालाई ३ सय ७० रनले हराएको नेपालले समूहको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको जीत हात पारेको थियो । मलेसिया समूह बी को उपविजेता बनेको हो । उसले चारमा तीनमा जीत र एकमा हार बेहोरेको थियो । अघिल्लो पटक फाइनलमा नेपालले मलेसियालाइनै हराएर उपाधि जितेको हो । फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनको फराकिलो जीत हात पारेको थियो । नेपाल सहज जीतका साथ उपाधिनजिक पुग्ने लक्ष्यमा छ । 

 नेपालका रौनक श्रीवास्तव र प्रसिद्ध जैसी उच्च रन बनाउने खेलाडीको शीर्ष दुइमा छन् । पहिलो स्थानमा रहेका रौनकले २ सय ९६ र दोस्रोमा रहेका प्रसिद्धले २ सय २७ रन प्रहार गरेका छन् । यस्तै बलिङतर्फ पनि नेपाल नै अघि छ । विपिनले १५ विकेट लिँदै पहिलो स्थान ओगटेका छन् । मलेसियाका सअ मिन लनले १२ विकेट लिएका छन् । अर्को सेमिफाइनलमा आज नै सिंगापुर र हङकङ भिड्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.