महिला युरो कप : नर्वेद्वारा घरेलु टिम स्वीट्जरल्यान्ड २-१ ले स्तब्ध

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिला युरो कप : नर्वेद्वारा घरेलु टिम स्वीट्जरल्यान्ड २-१ ले स्तब्ध

काठमाडौं । नर्वेले, महिला युरो कप २०२५ को उद्घाटन खेलमा घरेलु टिम स्विटजरल्यान्डलाई दुई-एक गोलले स्तब्ध पारेको छ । नर्वे एक-शून्य गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको हो ।

बसेल स्थित सेन्ट ज्याकोब पार्कमा गएराति भएको समूह ए को खेलमा स्विटजरल्यान्डले २४ औं मिनेटमा गोलको राम्रो अवसर सिर्जना गरेको थियो । जेराल्डिन रोइटलाको प्रहार क्रस बारमा लागेर बाहिरियो । २८ औं मिनेटमा उसले डेडलक तोड्यो । नदिन रिसेनले गोल गरेपछि घरेलु समर्थकले खुसियाली मनाएका थिए । पहिलो हाफमा आफ्नो दबाब बनाउँदै अग्रता लिएको स्विटजरल्यान्डविरुद्ध ब्रेकपछि नर्वेले उत्कृष्ट पुनरागमन गर्यो । 

दुई पटकको युरोपियन च्याम्पियन नर्वे पहिलो हाफमा सट अन टार्गेट राख्न असफल भएको थियो । तर दोस्रो हाफमा नर्वेले पाँच मिनेटको अन्तरमा दुई गोल फर्काएपछि स्विटजरल्यान्डले रिकभर गर्न सकेन । ५४ औं मिनेटमा कर्नरबाट आएको बलमा आदे हेगरबर्गले हेडर गोल गर्दै खेल बराबरी गरेकी थिइन् । राष्ट्रिय टिमका लागि ५० औं गोल पुरा गरेकी उनको युरोमा भने यो पहिलो हो । ५८ औं मिनेटमा स्विस टिमकी युलियन स्टेलीले आफ्नै पोस्टमा गोल गरेपछि नर्वे खेलमा दुई एकले अघि रह्यो । ७० औं मिनेटमा नर्वेले पेनाल्टीको अवसर पायो । हेगरबर्गले प्रहार गरेको पेनाल्टी बाहिरिएपछि स्विटजरल्यान्डले लाइफलाइन पाएको थियो । 

तर त्यसको फाइदा उठाउन भने सकेन । समूह ए मा रहेको नर्वेले ३ अंक जोडेको छ । सन १९९७ मा महिला युरोमा समुह चरणको सुरुवात भएयता उद्घाटन खेलमा आयोजक राष्ट्रलाई पराजित गर्ने नर्वे पहिलो टिम हो । यो खेल हेर्न ३४ हजार ६३ समर्थक स्टेडियम पुगेका थिए । जुन स्विटजरल्यान्ड महिला फुटवलको रेकर्ड संख्या हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.