कार्लोस आल्कारेज विम्बल्डनको तेस्रो चरणमा प्रवेश

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कार्लोस आल्कारेज विम्बल्डनको तेस्रो चरणमा प्रवेश

काठमाडौं । साविक विजेता कार्लोस आल्कारेज, विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । स्पेनिस आल्कारेजले, ब्रिटेन क्वालिफायर ओलिभर टार्भेटलाई सोझो सेटमा पराजित गरेका हुन् ।

विश्व नम्बर दुई आल्कारेजले पहिलो चरणको खेलमा इटालियन भेट्रान फाबियो फोनीनीबाट कडा चुनौतीको सामना गरेका थिए । उनले साढे चार घन्टाभन्दा बढी समय लगाएर पाँचौ सेटमा जीत हात पारेका हुन् । तर दोस्रो चरणमा भने उनले त्यति धेरै संघर्ष गर्नु परेन । सेन्टर कोर्टमा आल्कारेजले २१ वर्षीया टार्भेटलाई पहिलो सेटमा सहजै ६-१ ले पराजित गरे । विश्व वरियताको सात सय ३३ औं स्थानमा रहेका टार्भेटले पाँच पटकका ग्रान्डस्लाम च्याम्पियन आल्कारेजविरुद्ध एघार ब्रेक पोइन्ट सिर्जना गरेका थिए । 

तर अमेरिकामा पढिरहेका विद्यार्थी टार्भेटले दुई ब्रेक पोइन्टको मात्र सदुयोग गर्न सके । दोस्रो सेटमा आल्कारेज ६-४ ले विजयी भए । तेस्रो सेट पनि ६-४ ले नै जित्दै आल्कारेजले तेस्रो चरणमा स्थान सुरक्षित गरे । उनी पछिल्ला २० खेल यता अपराजित छन् । दुई पटकका साविक विजेता आल्कारेजले विम्बल्डनमा पछिल्ला १६ खेलमा हार बेहोरेका छैनन् । पुरुषतर्फकै अर्को खेलमा ब्राजिलका युवा खेलाडी जोवाओ फोसेकले आफ्नो उच्च प्रदर्शन जारी राखेका छन् ।

 १८ वर्षीय फोसेकले, तेस्रो चरणमा स्थान बनाउने क्रममा अमेरिकाका जेनसेन ब्रुक्सबीलाई चार सेटमा पराजित गरे । उनले पहिलो सेट ६-४ ले जिते । तर दोस्रो सेट ५-७ ले गुमाए । बाँकी दुई सेटमा उत्कृष्ट पुनरागमन गरेका फोसेकले ६-२, ६-४ को जीतका साथ इतिहास रचेका हुन् । सन् २०१० पछि विम्बल्डनको दोस्रो चरण पार गर्ने उनी पुरुषतर्फ पहिलो खेलाडी हुन् । फोसेकले तीन घन्टा १४ मिनेटमा खेल जितेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.