पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल भुइँ भागको ढलान अर्थात् इन्भर्टको काम सकिएको छ ।
मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपनको काम ८ सय ३४ मिटर सकिएको सिद्धबाबा सुरुङ्मार्ग आयोजना कार्यालयले जनाएको छ । इन्भर्टको काम भने १ हजार ८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकराी दिनुभएको छ । लाइनिङको काम ८ सय ३४ मिटर सकिएको र अब लाइनिङको काम २ सय ९२ मिटर मात्र बााकी रहेको आयोजनाले जनाएको छ ।
सुरुङमार्ग अन्तर्गत बाइपास १ मा 'इन्भर्ट र लाइनिङ्' को काम भइरहेको छ । बाइपास ३ मा 'इन्भर्ट' को काम सुरु भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । बाइपास दुइको इन्भर्ट र लाइनिङको काम भने सुरु भएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक अहिलेसम्मको समग्र भौतिक प्रगति ५६ दशमलव सुन्य ३ प्रतिशत पुगेको छ ।
त्यस्तै वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ ।