फायरसाइड : के नेपालमा कुनै स्वरूपको राजतन्त्र आउन सम्भव छ ?

मंसिर १८, २०८०
फायरसाइड : के नेपालमा कुनै स्वरूपको राजतन्त्र आउन सम्भव छ ?

मुलुकमा आन्दोलनको मौसम सुरु हुन लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तिहारपछि सुरु गर्ने भनेको आन्दोलनको खाका तय गर्न समिति नै गठन गरेको छ । पुस पहिलो साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकले त्यसको मिति घोषणा गर्ने बताइएको छ । 

दुई साताअघि काठमाडौंमा प्रदर्शन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि मंसिर ३० भित्र जन सरकार गठन गरेर फागुन १ गते व्यवस्था परिवर्तन गर्छु भनेर लागि परेका छन् । जबकि उनले थालेको प्रदर्शन मंसिर ७ पछि शिथिल भइसकेको छ । 

यी सबका पछाडिको उद्देश्य भनेको राजसंस्था ब्युँताउने र नेपाललाई हिन्दु राज्य घोषणा गर्ने नै रहेको छ । तर, राजसंस्था फिर्ता ल्याउँछौँ भन्ने शक्तिहरू आफैँमा मिल्न सकेका छैनन् । 

चिरा चिरामा विभाजित राप्रपा, असंगठित व्यक्तिहरू र एजेन्डाविनै सडकमा ओर्लिएकाहरूले नेपालमा राजसंस्था ब्युँताउन सजिलो छ ? नेपालमा हिन्दु गणराज्य सजिलो कि राजतन्त्रसहितको हिन्दु राज्य ? दलहरूले केही गरेनन् भनेर बिदा भइसकेको राजतन्त्र ब्युँताउनु कत्तिको मनासिब ? 

दुई दुई पटक राजगद्दीमा आसीन भएर पनि त्यसलाई जोगाउन नसकेका ज्ञानेन्द्र शाह नेपालीका पालनहार नै हुन् त ? नेपालमा अरू कुनै स्वरूपको राजतन्त्र आउन सम्भव छ ? यी र यस्तै प्रश्नको जवाफ आजको फायरसाइडमा खोज्नेछौँ । त्यसका लागि हामीसँग छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा ।