टफटकमा रामेश्वर खनाललाई प्रश्न- कसले बिगारिरहेको छ अर्थतन्त्र ?

मंसिर ६, २०८०
टफटकमा रामेश्वर खनाललाई प्रश्न- कसले बिगारिरहेको छ अर्थतन्त्र ?

बजारमा चरम मन्दी छ । मुख्य बजारकै पसलहरु नचलेर सटर बन्द भइरहेका छन् । ऋण लिएर व्यापार-व्यवसाय गर्नेलाई आफ्नै काम निल्नु न ओकल्नु भएको छ । मुख्य चाडबाडमा समेत न उपभोक्ता केही किन्न सक्ने अवस्थामा छन् न बजार चलायमान हुन सकेको छ । यति मात्रै होइन, महँगीले दैनिक नभई नहुने सामग्रीकै मूल्य छोइनसक्नु छ । हाम्रो भान्साका लागि अत्यावश्यक दाल, चामल, तेल र मसलाजस्ता सामग्रीकै भाउ आकासिँदा अड्कलेर खानुपर्ने अवस्था आएको छ ।

मुलुकको अर्थतन्त्र दिनानुदिन थला पर्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थामा करिब पाँच खर्ब लगानीयोग्य रकम थुप्रिएको छ । सरकारी खाता घाटामा छ । कर्मचारीलाई ऋण लिएर तलब खुवाइँदै छ । चालु खर्च र वित्तीय व्यवस्थापनका लागि छुट्याइएको बजेट बढिरहेको छ । विकास खर्च अत्यासलाग्दो गरी न्यून छ । मूल्यवृद्धि २० महिनायता ७ प्रतिशतभन्दा माथि छ ।

राष्ट्र बैंकले नै महँगी नियन्त्रणबाहिर पुगेको स्वीकार गरिसकेको छ । आयात र निर्यातमा अति धेरै असन्तुलन छ । अनि यही बेला जनतामा चरम आक्रोश छ, निराशा छ ।

अर्थतन्त्रको वास्तविक अवस्था के हो ? कसले बिगारिरहेको छ अर्थतन्त्र ? सरकारले अनुकूल वित्त नीति बनाउन नसकेको कि, राष्ट बैंकले असहयोग गरेको ? यसमा सबैभन्दा बढी दोषी अर्थमन्त्री कि गभर्नर ? राजनीतिक नेतृत्वले विचार नपुर्याएको कि कर्मचारीतन्त्रले साथ नदिएको ? कि अर्थतन्त्र बिगार्न अरु कुनै अदृश्य शक्ति सक्रिय छन् ? सुधारका लागि कसले के गर्नुपर्छ ? आजको टफटकमा पूर्वअर्थसचिव रामेश्वर खनालसँग कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभूषण पाठकले गरेको कुराकानी :

मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भीर मोडमा छ । आम नागरिकलाई जीविका चलाउन समस्या हुन थालेको छ । जनाता साँच्चै आक्रोशित देखिन्छन् पनि । आज मैले मुलुकको अर्थतन्त्रको वास्तविक चित्र के हो र यसको समाधान के हुन सक्छ भनेर तपाईंलाई निम्त्याएको हुँ । तपाईं हिजो प्रधानमन्त्रीसँग हुनुहुन्थ्यो । मुलुकको अर्थतन्त्र साँच्चै संकटतर्फ छ कि भन्ने खालको भान भइरहेको बेलामा तपाईंले प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो ? प्रधानमन्त्रीको चिन्ता के कुरामा थियो हिजो ?

खासगरी सम्माननीय प्रधानमन्त्रीलाई निजी क्षेत्रले अर्थतन्त्रमा पटकपटक समस्या छ, उहाँहरुको भाष्यमा चाहिँ मन्दी भन्नुभएको छ । मान्छेको व्यक्तिगत अवधारणाका आधारमा मन्दी हुने वा नहुने होइन । मन्दी हुने भनेको त- आर्थिक वृद्धि ऋणात्मक गयौं भने हो । गत आर्थिक वर्षमा ऋणात्मक छैन । यो आर्थिक वर्षमा पनि बढेको देखिएको छ । ऋण लगानी बढेको छ । सबै सूचकांकले आर्थिक वृद्धि सकारात्मक नै छ भन्ने देखाउँछ । धनात्मक नै छ भन्ने देखाउँछ । त्यसकारण तथ्य र तथ्यांकले अर्थतन्त्रको अवस्था गम्भीर देखाउँदैन । तर हामीचाहिँ संरचनागत समस्यामा छौं । हाम्रो तीव्र आर्थिक वृद्धिको सपना यो संरचनामा पूरा हुन सक्दैन । संरचनागत परिवर्तन गर्न नसकेकाले हामी अहिले सानो समस्यामा छौं । त्यसलाई अलिकति चर्काएर उचालेको हुनाले प्रधानमन्त्री गम्भीर हुनुभो । अहिले उहाँलाई के लागिरहेको छ भने- सरकारले मात्रै गरेर हुँदैन । समुदायले मात्रै गरेर हुँदैन ।

त्यसो भए आर्थिक संकट भनेको के हो त ? अर्थशास्त्रीले बुझेको आर्थिक संकट र हामीले बुझेको आर्थिक संकट फरक हुन्छ ? बजारमा व्यापार नभएर सटरहरू बन्द भएका छन् । उपभोक्ताको क्रयशक्ति छैन । औद्योगिक उत्पादन घटेर संकुचन भएको छ- औद्योगिक उत्पादन छैन । जग्गाको किनबेच छैन । राजस्व उठिरहेको छैन । बैंकमा पैसा सञ्चित छ भनेर भनिरहेको छ । रेमिट्यान्सले मुलुक धानेको छ । तपाईं भन्दै हुनुहुन्छ कि आर्थिक संकट छैन ?

यसो हो- उपभोग घटेको छ भन्ने कुरा त एग्रिगेटमा हेर्नुपर्ने हुन्छ । केही व्यक्तिको समस्यालाई जेनरलाइज गरेर राष्ट्र नै समस्यामा छ भनी व्याख्या गर्न थाल्यौं भने एउटा निष्कर्षमा पुगिन्छ । सरकारको मूल्यअभिवृद्धि करको संकलन बढ्या छ । यदि मानिसहरूले खरिद गर्न कम गरेको भए त मूल्यअभिवृद्धि कर पनि घट्नुपर्ने थियो- त्यो बढेको छ । अघिल्लो महिना कुरा गर्ने हो भने विदेशबाट १२० अर्बभन्दा बढी रेमिटेन्स आयो । निक्षेप ३ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

अर्थतन्त्रमा कतिपय अवस्थामा केही सटरहरू बन्द हुन्छन्, थुप्रै सटर खुल्छन् । हामी थुप्रै सटर खुल्ने कुरा गरिरहेका छैनौं । नगरकोटमा नयाँ रिसोर्ट खुल्यो । धुलिखेलमा नयाँ रिसोर्ट खुल्यो । पोखरामा नयाँ एउटा खुल्या छ- मान्छेहरू गएर चकाचक छ । त्यो समाचार बन्दैन । खुलेको कुराको समाचार धेरै बन्दैन । हाम्रोमा के छ भने, नकारात्मक कुरालई ब्लोअप गरेर चर्काउने कुरो छ । हाम्रो अर्थतन्त्र समस्याग्रस्त नभएको होइन । हाम्रो अर्थतन्त्र सधैं समस्या ग्रस्त हो ।

तपाईंले अघि भन्याजस्तो होटेलहरू खुले । भैरहवामा पाँचतारे होटेल, नेपालगन्जमा पाँचतारे होटेल । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तर खोइ जहाज ? खोइ पर्यटक ? खोइ रोजगारी ? बिहान १० बजे वा ११ बजे भाइटीकाको टीका लगाउने साइत छ- ८ बजे वा ९ बजे एउटा मान्छे रुँदै विमानस्थलबाट बाहिरिन्छ ।

केही छिटपुट कुराहरूलाई उदाहरणचाहिँ नबनाऔँ । पर्यटकीय कुरा गर्ने हो भने कोभिड-१९ को कारणले विश्वव्यापी पर्यटकको संख्या, पर्यटकको मुभमेन्ट घटेको हो । चीनले त बोर्डर एक्ट बनाएर सीमा नै पूरै बन्द गर्‍यो । हाम्रो सीमा पनि नै बन्द गर्‍यो । चिनियाँ पर्यटक हाम्रोमा ठूलो संख्यामा आउँथे । तिनीहरू पूरै बन्द भए । कोभिड-१९ को कारणले घट्दै गएको थियो । अहिले हेर्नुभयो भने- अघिल्लो महिनाको तथ्यांकका आधारमा हामी योभन्दा अगाडि सर्वाधिक संख्यामा जति पर्यटक भित्र्याएका थियौं त्योभन्दा बढी भित्र्यायौं भनिरहेका छौं । त्यो पिकअप गरिसकेपछि- त्यही मुमेन्टमलाई कायम गर्न सकेनौं । त्यसको पछाडि कतिपय अवस्थामा वित्त नीति कारक रहेको छ । पुँजीगत खर्चको अवस्था दुरुह भएका कारणले गर्दा पनि आममानिसमा सरकारप्रति ठूलो नैराश्यता छ । त्यसकारण हाम्रो पूर्वाधारमा सरकारले जुन खालको लगानी गर्नुपर्ने थियो त्यो सही तरिकाले समयमा सम्पन्न गर्न नसक्या कारणले पनि हामीमा नैराश्यता बढेको हो ।

अब मलाई भन्दिनुहोस्, करिब-करिब १५/२० वर्षअगाडि तपाईं आफैं नेपाल सरकारको सचिव हुँदा- एउटा महत्त्वपूर्ण अर्थ मन्त्रालय सम्हालेको मान्छे, त्यो बेलाको र आजको अवस्थामा कति फरक छ ? कसरी तुलना गर्नुहुन्छ ?

म सचिव हुनुभन्दा अगाडिको अवस्था ज्यादै गम्भीर थियो । राजाको शासन प्रारम्भ हुनुभन्दा अगाडि त्यो समस्या सुरु भयो । राजाको कालखण्डमा पनि त्यो रहिरह्यो । पछि गएर ०६३/६४ पछि सरकारी वित्तलाई पनि कस्दै लग्यौं । एउटा लक्षित क्षेत्रमा लगानी गर्‍यौं । ठूला आयोजनाहरूको पनि त्यही बेला परिकल्पना गरियो । मध्य पहाडी लोकमार्ग, सिक्टा सिँचाइ परियोजना, भेरी बबई सिँचाइ परियोजना- जुन कुरा त्यो बेला ठूलो लाग्ने योजनाहरूको परिकल्पना गरियो । जसको केही कामहरू अहिलेसम्म पनि सम्पन्न भएको छैन । केही काम सम्पन्न पनि भयो । हो त्यो कालखण्डलाई मैले सम्झेको हिसाबले कठिन कालखण्ड मान्छु ।

मैले छोडेको १३ वर्ष भयो । मैले छोड्दाखेरि अर्थतन्त्र एक किसिमले सहज अवस्थामा थियो । पछि गएर के भयो भने २०७२ को भूकम्प, भूकम्पपछि नाकाबन्दी, त्यसपछि कोभिड-१९, यी तीनवटा संकटलाई पनि हामीले पार गरेर आयौं । यो तीनवटा संकट पार गर्ने बेलामा मौद्रिक नीतिलाई यतिधेरै लचिलो बनायौं कि- कतिपय अवस्थामा उपचार गर्न खाएको औषधि बढी प्रयोग गरियो भने त्यसको दुष्प्रभाव केही समयसम्म रहन्छ, अहिले हामी त्यही दुष्प्रभावको चरणमा हो ।

सामान्यत: निजी क्षेत्र वा तपाईंहरूजस्ता विज्ञहरूले हिजोअस्तिसम्म भन्दै गरेको वा गुनासो गरेको सबैभन्दा ठूलो कुरा के हो भने- हाम्रो मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल छैन । त्यो तालमेल नभएकाले यो अवस्था आएको हो भनेर भनिन्छ ।

प्राय: सबै मुलुकहरूमा मौद्रिक नीति र वित्त नीतिमा अन्तरविरोध त हुन्छ, हुन्छ । वित्त नीति अलि उदार भएर आयो भने मौद्रिक नीति अलि कसिनुपर्छ । त्यो भएन भने सन्तुलन हुँदैन । त्यो अन्तरविरोध त जहिले पनि रहिरहन्छ । तर हामीकहाँ दुईपटक त्यो खालको अन्तरविरोध हुनुपर्नेभन्दा बढी भयो ।

पोलिटिकल टसलले ?

निश्चय नै । पोलिटिकल टसल- पोहोरचाहिँ गभर्नर हटाउने तहसम्म पुग्यो । त्यसपछिका कतिपय अवधिमा चाहिँ दोहोरो वचनको आदानप्रदान सार्वजनिक मञ्चहरूबाटै हुने काम भयो ।