फायरसाइडमा माधव नेपाल : मान्छे बिग्रने शक्तिको उन्मादले हो, सानो भएपछि सुन्ने गरी कराउनुपर्छ !

वैशाख २५, २०८०
फायरसाइडमा माधव नेपाल : मान्छे बिग्रने शक्तिको उन्मादले हो, सानो भएपछि सुन्ने गरी कराउनुपर्छ !

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन निर्माण हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । यद्यपि यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल विशेष रुपमा सचेत हुनुपर्ने नेता नेपालको भनाइ छ ।

वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना टरेको अध्यक्ष नेपालको दाबी छ । ‘तपाईंको पार्टीलाई ठाउँ नदिँदा पनि यो गठबन्धन चलिरहन्छ ?’ भन्ने प्रश्नमा नेपालले लचकता देखाउँदै जवाफ दिए, ‘मैले भन्दै आएको छु, यो गठबन्धन अब कसैले टिक्दैन भनेर नसोच्नुहोला । यो टिक्छ, टिकाइन्छ ।’

गठबन्धनले पूर्ण आकार पाएर ‘पिकअप’ लिने तयारीमा रहेको उनको भनाइ छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा नेता नेपालले आफ्नो पार्टी सानो भएका कारण सत्ता गठबन्धनबाट हेपिएको स्वीकार गरे । उनले भने, ‘यस्तो त भइ नै हाल्छ । सबैमा लचकता भइदिए धेरै समस्याको सामना गर्नैपर्ने थिएन ।’

नक्कली शरणार्थी प्रकरणको विषयमा भने उनले सरकारको अग्रसरतालाई धन्यवाद दिनुपर्ने बताए । उनी भन्छन्, ‘यो सरकारलाई धन्यवाद दिनुपर्छ- अहिलेसम्मका कामको निम्ति । भोलि गरेन भने औंला ठड्याउँला ।’

प्रस्तुत छ– अन्तर्वार्ताको संक्षिप्त अंश :

पुस १० गते बनेको गठबन्धन भत्किएर नयाँ गठबन्धनसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारको निरन्तरता पाएको अवस्था छ । जुन उद्देश्यसहित तपार्इंले सत्तागठबन्धन बनाउनुभएको थियो, त्यसै अनुसार यो सरकारले काम गरेको छ ?

अब त्यो गठबन्धन हामीले भत्काएको भन्नु कि, बनाउनेले नै बिगारेको भनौं ? जे भए पनि संकटका बेला हामीले एउटा विकल्पको अवस्था सिर्जना गर्‍यौं । निर्वाचनपछि निर्माण भएको गठबन्धन कुनै सौद्धान्तिक धरातलमा उभिएको थिएन । आफूले बोकेको जुन पहिलाको मान्यता थियो, चुनावअघिको गठबन्धनको मान्यता त्यसबाट पनि बिचलित भइसकेको अवस्था थियो । त्यस भएकाले त्यो टिक्ने पनि अवस्था देखिँदैन थियो । तर, पनि विचार पुर्‍याएर, सबैलाई मिलाएर, समेटेर लाने काम होला कि भन्ने पनि लागेको थियो ।

हामीलाई त अरु केही पनि चाहिएको होइन । यो मुलुकमा विकास चाहिएको हो, भ्रष्टाचारबाट मुक्ति चाहिएको हो, जनताका चाहाना परिपूर्ति गर्ने काम सरकारबाट होस् भन्ने चाहिएको हो ।

तपाईंले उल्लेख गरेको काम अहिले सरकारले गरिरहेको छ जस्तो लाग्छ ?

अहिलेको गठबन्धन सरकारका प्रधानमन्त्रीजीले जुन हिसाबले अगाडि बढ्ने जमर्को गर्दै हुनुहुन्छ र प्रतिवद्धता व्यक्त गर्दै हुनुहुन्छ, त्यो प्रतिवद्धताअनुरुप उहाँ अगाडि बढ्ने हामीले आशा गरेका छौं । अहिलेसम्मको कामलाई हेर्दाखेरि परिस्थितिको बाध्यता सबैले बुझ्नुपर्दछ ।

प्रधानमन्त्रीलाई के त्यस्तो बाध्यता छ र ? गठबन्धनको सरकार बनेको छ.....

उपनिर्वाचन थियो । उपनिर्वाचनसम्म विभिन्न पार्टीहरुको आ–आफ्नो ध्यान उपनिर्वाचनमा जाने भयो । यो सबै अवस्थाभित्र पुरानो गठबन्धन टुट्ने र नयाँँ गठबन्धन स्थापना हुने, नयाँ गठबन्धन स्थापन हुँदा संख्याका कुरा त्यत्तिकै महत्त्वपूर्ण हुने– केन्द्रको हकमा पनि र प्रदेशको हकमा पनि, त्यसपछि अनेकखालको स्वभाव छ नेताहरुका ।

प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो बाध्यता भनेको यो गठबन्धन जोगाइराख्नु छ भन्न खोज्नुभएको ?

बीचको समयमा त्यो परिस्थिति थियो । एक प्रकारले भन्नुहुन्छ भने गठबन्धनले पूर्ण आकार प्राप्त गर्ने अवस्थामा हामी पुगेका छौंै । अब यो सरकारले बिस्तारै ‘पिकअप’ गर्नुपर्छ र अगाडि बढ्नुपर्छ ।

प्रधानमन्त्रीले १० औं पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । अझै पूर्णता पाउन सकेको अवस्था छैन । एउटा मन्त्रालय खाली नै छ । अनि प्रधानमन्त्रीले कसरी तपाईंले भने जस्तो ‘पिकअप’ लिनुहोला ?

विभिन्न पार्टीलाई मिलाएर जाने कुरा सजिलो हुँदैन । तपाईंलाई थाहा होला–२०६६ सालमा म जतिबेला प्रधानमन्त्री भएको थिएँ, त्यति बेला पनि मैले २२ वटा पार्टीलाई मिलाएर लानुपरेको थियो । २२ वटा पार्टीलाई मिलाउने क्रममा कस्तो–कस्तो समस्या भयो, कस्ता कुरा सामना गर्नुपर्ने रहेछ भन्ने कुरा त अनुभवी म आफैँ छु । अहिले त २२ वटा पार्टी पनि छैनन् । जम्मा १० वटा पार्टी छन् । यी १०–१२ वटा पार्टीहरु मध्येबाट गठबन्धनमा अहिले ५–७ वटा पार्टी सामेल छन् । यो अवस्थाभित्र फेरि आ–आफ्ना स्वभाव, पार्टीको आफ्नो बाध्यता यो सबैले गर्दाखेरि यो स्थितिलाई पार गर्‍यौं । अब सम्पूर्ण ध्यान देशको विकास गर्ने कुरामा, नीति निर्माण गर्ने कुरामा र जनताका चाहाना, भावना अनुसार अगाडि बढ्ने कुरामा केन्द्रित हुनुपर्छ ।

तपाईंको सार्वजनिक अभिव्यक्ति सुन्दा त प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई खासै महत्व दिएको जस्तो देखिँदैन, किन हो ?

अब यस्ता कुराहरु हुन्छन् केही प्रसंगका लागि । अब त्यो बोलिएन, भनिएन, कराइएन भने सानो बालकलाई त भोक लाग्यो, लागेन भनेर आमाले थाहा पाउँदैनन् । हाम्रो कुरा पनि त कानमा पुग्नुपर्‍यो । सुन्ने गरी र बुझ्ने गरी पनि पुग्नुपर्‍यो । सुन्ने गरी र बुझ्ने गरी हामीले पुर्‍याएका पनि छौं र त्यसमा छलफल पनि गरिरहेका छौं ।

तपाईंको पार्टीको आकार र सांसद संख्यालाई लिएर यो सानो पार्टी हो भनेर हेपाइ त भएको होइन ?

यस्तो त भइ नै हाल्छ । मान्छे हो, मान्छे सबैमा उस्तै चिन्तन भइदिए, हृदयको विशालता भइदिए, अनि लचकता भइदिए धेरै समस्याको सामना गर्नै पर्ने थिएन । मान्छे बिग्रने शक्तिको उन्मादले हो । त्यसैले कतिपय पार्टीहरुले परिणामहरु भोग्नुपरेको छ । कतिपय नेताहरुले भोग्नुपरेको छ ।

नेपालको राजनीतिमा नै यस्ता घटना, परिघटना घटिसकेका छन् । हामी अन्त–अन्त जान आवश्यक छैन । तर अहिले हाम्रो जिम्मेवारी छ– यो देशमा स्थिरतालाई कायम राख्ने, गठबन्धनको एकतालाई बलियो बनाउने र सम्पूर्ण ध्यान मुलुकलाई सुशासनको दिशामा विकास र प्रगतिको दिशामा लिएर जाने । देशको मर्यादा, हित, स्वतन्त्रता, स्वाभिमानको रक्षा गर्ने र नेपालको विकासको निम्ति खासगरी युवाको समस्या, आम जनताका पीडा र वेदना यो सबैलाई हल गर्नका लागि ध्यान केन्द्रित गर्ने ।

अहिले तपाईंले यसो भन्नुभयो तर वैशाख २० गते सुर्खेतमा आयोजित कार्यक्रम तपाईं भन्दै हुनुहुन्थ्यो, एकीकृत समाजवादीलाई बाइपास गरिँदैछ । यही अवस्था रहेमा गठबन्धन धरापमा पर्न सक्छ । खासमा के भन्न खोज्नुभएको हो ?

पछिल्लो वाक्य तपाईंले थपिदिएको मात्र हो । मैले गठबन्धनको भविष्य भनेर केही भनेको छैन । बरु मैले के भनेको छु भने– गठबन्धन कायम रहन्छ ।

तपाईंहरुलाई स्पेस नदिँदा पनि यो गठबन्धन चलिरहन्छ ?

पत्रकार सम्मेलनमा मैले त्यहीबेला (सुर्खेत, बैशाख २०) भनेको थिएँ, यो गठबन्धन अब कसैले टिक्दैन भनेर नसोच्नुहोला । यो टिक्छ, टिकाइन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन लिएपछि आशंका गरिँदैछ । कतै एमालेको नेतृत्वमा अर्को वैकल्पिक गठबन्धन बनाउने तयारी त हुँदै छैन ? तपाईलाई के लाग्छ ?

म देख्दिनँ । त्यसको सम्भावना छैन । किनभने, देशको राजनीतिलाई कुनै पनि दिशामा लिएर जानुपर्छ भन्ने कुरामा मुख्यतः मुख्य नेताको ध्यान जानुपर्छ । त्यसमा पनि अहिले प्रधानमन्त्री हुनुभएको नेता पुष्पकमल दाहालको ध्यान जानुपर्छ । प्रमुख पार्टीको हैसियतामा रहेको नेपाली कांग्रेसको ध्यान जानुपर्छ ।

यतिबेला नक्कली शरणार्थी प्रकरणले राजनीतिलाई तरंगित बनाएको छ । यो प्रकरणलाई कसरी हेर्नुभएको छ ?

यो त बाहिर ‘एक्सपोज’ भएको हो । यो बाहिर आइसकेपछि यसका निम्ति यो सरकारले तदारुकता देखाएर छानविन गर्न र दण्डित गर्नका लागि जुन अग्रसरता लिएको छ, यो सरकारलाई धन्यवाद दिनुपर्छ– अहिलेसम्मका कामको निम्ति । भोलि गरेन भने औंला ठड्याउँला ।

अहिले त हौसला दिनुस् । वास्तवमा सबै डराउने छन् । नेता डराउने छन्, प्रशासन डराउने छ, समाजका भ्रष्ट तत्व डराउने छन् । यो तीनवटाको ‘कम्बिनेसन’ले बिग्रँदो रहेछ जम्मै । नेता बदमास भएनन् भने कर्मचारी तह लाग्छन् । कर्मचारी ठीक भए भने जनता पनि ठीक ढंगले अगाडि बढ्ने स्थिति आउँछ ।

राजनीतिक संरक्षणमा भएको यो प्रकरणका दोषीलाई कारबाही गर्न वर्तमान सरकार सक्षम हुन्छ भन्ने लागेको छ तपाईंलाई ?

म आशावादी छु । जहिले पनि शब्दको प्रयोग गर्दा ख्याल गर्नुहोला– म तीनवटा कुरालाई ध्यानमा राख्छु । शतप्रतिशत ‘कन्फिडेन्ट छ भने ‘यस’ भन्छु । अर्को ‘आइ एम होपफुल’ भन्छु । विश्वास छैन भने– छैन भन्छु । त्यसकारण मेरो जवाफ जहिले पनि अन्तिम हुँदैन । ‘टेस्ट’ गर्नुपर्छ, आशावादी छु म ।

प्रमुख दलका नेताहरु नै पर्ने भएपछि शीर्ष नेताबीच सौदावाजी भएर नेताविशेषलाई जोगाउने सम्भावना कतिको देख्नुहुन्छ ?

० त्यस्तो म देख्दिनँ । किनभने, हाम्रो गृहमन्त्रीजीको पनि अभिव्यक्ति र मैले एक्लै पनि उहाँसँग कुरा गरेँ । उहाँ दृढ हुनुहुन्छ । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेँ । उहाँ पनि दृढ हुनुहुन्छ । गठबन्धन दलमा पनि कुराहरु उठे, उनीहरु पनि ‘डिटरमिन’ छन् । यसमा मूल भूमिका प्रधानमन्त्रीकै हुन्छ । मलाई थाहा छ नि देशभित्रको दबाब, विदेशको दबाब के के पर्छ त्यो सबैमा । त्यो सबै थेग्न सक्ने आँट हुनुपर्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री स्वयंले स्वीकार गरिसक्नु भएको छ कि दबाब आयो भनेर । तपाईंले भने जस्तो होपफुल भन्ने कुरा के होला ?

दबाब आउनु ठूलो कुरा भएन । आउला नि । दबाब बदमासहरुबाट पनि आउँछ, निर्दोष भनेर देखिएकाबाट पनि आउँछ । रोई कराईबाट पनि आउँछ । अनेक किसिमले धम्की दिएर पनि आउँछ । अब कस्तो दबाब आएको हो, थाहा छैन मलाई । उहाँले भन्नुभएको छैन । तर मैले बुझेसम्म यो सरकार, यो अहिलेको घटनाक्रम मात्रै होइन, मैले पुरानो घटनाको पनि गृहमन्त्रीलाई ध्यानाकर्षण गरेको छु । कञ्चनपुरकी निर्मलाको बलात्कारपछि भएको हत्याकाण्डको सत्य–तथ्य छानबिन गरेर त्यो च्याप्टर क्लोज त गर्नुपर्‍यो । हामीकहाँ काममा आँट गर्ने मान्छेहरु चुनौतीका बीचमा अगाडि बढ्ने कम छन् ।