त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई घण्टादेखि बन्द, धावन मार्गमा विजुली सर्ट भएको अनुमान

दुई विमान आकाशमा घुमेको घुम्यै, तीन वटा डाइभर्ट
कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई घण्टादेखि बन्द, धावन मार्गमा विजुली सर्ट भएको अनुमान

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा बिजुली सर्ट हुँदा उडान र अवतरण प्रभावित भएको छ । 

शनिबार बेलुकी करिब ५ बजेर २५ मिनेटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अचानक बिजुली सर्ट हुँदा सम्पूर्ण उडान गतिविधि प्रभावित भएका हुन् । लगातारको वर्षाका कारण धावनमार्गमा पानी पसेर विद्युत् सर्ट भएको अनुमान गरिएको छ । 

इलेक्ट्रिकल विभागका कर्मचारीहरूले के कारण बत्ति सर्ट भएको हो भन्ने पत्ता लगाउने प्रयास जारी राखेका छन् । प्रारम्भिक जानकारीअनुसार धावनमार्गको किनारामा रहेको ‘एज लाइट’ सर्ट भएको पाइएको छ । बिजुली सर्ट भएपछि दुबईबाट आएको फ्लाई दुबई, दोहाबाट आएको कतार एयरवेज र दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजहरूलाई सिमरामाथिको आकाशमा होल्डमा राखिएको छ । 

सिओलबाट आएको कोरियन एयरको विमान भने नयाँदिल्ली गएको छ । त्यस्तै, आन्तरिकतर्फ जनकपुरबाट आएको बुद्ध एयरको एटीआर केही समय होल्डमा रहेकोमा जनकपुर नै फर्किएको छ । यद्यपि, काठमाडौंबाट उडान नहुँदा विमानस्थलमा यात्रुहरूको चाप बढेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग करिब ३३ सय ५० मिटर लामो छ । हाल धावनमार्ग अँध्यारो बनेको छ र मर्मत कार्य तीव्र रूपमा भइरहेको विमानस्थलले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.