हिमपातका कारण तीन पर्यटकको मृत्यु, सयौं उद्धारको पर्खाइमा

कार्तिक १४, २०८२ |विकास आचार्य
हिमपातका कारण तीन पर्यटकको मृत्यु, सयौं उद्धारको पर्खाइमा

काठमाडौं । सरकारी बेथास्ताले हजारौं पर्यटक हिमाली र उच्च पहाडि जिल्लामा फसेका छन् । 

अंग्रेजी महिना अक्टोबर पर्यटकका लागि पदयात्रा गर्ने सिजनका रूपमा लिइन्छ । दशैं-तिहार जस्ता चाडमा लामो बिदा हुने भएकाले नेपाली पनि घुम्न निस्कने गरेका छन् । तर, यसपटक बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभावले हिमाली र उच्च पहाडी जिल्लामा भारी हिमपात भयो । तीन जनाले ज्यान गुमाइसक्दा सयौं पर्यटक अहिले पनि उद्धारको पर्खाइमा छन् ।

गोरखाको मनास्लु क्षेत्रमा कति पर्यटक फसेका छन् कसैलाई जानकारी छैन । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार सम्पर्कमा आएकाहरूको उद्धार भइरहे पनि अन्य कति पर्यटक मनास्लु क्षेत्रमा फसेका छन् जानकारी छैन । चेक रिपब्लिकका एक पर्यटक भने आधार शिविरबाट फर्किँदा न्याक फेदीमा पहिरोमा परेर ज्यान गुमाएको सम्मको जानकारी प्रशासनलाई भए पनि शव उठाउने र फसेका अन्यलाई उद्धार गर्न सकिएको छैन । यो टोलीमा कम्तिमा ५० जना रहेको अनुमान छ ।

मनास्लु क्षेत्रकै चुमनुब्री गाउँपालिका-१ सामागाउँबाट फर्कँदा ढुङ्गाले लागेर घाइते भएका काठमाडौं टोखा-६ का ४४ वर्षीय मिनुइन्द्र लम्सालको उद्धार हुन सकेको छैन । लम्साललाई चुमनुब्री गाउँपालिका-५ को बिही भन्ने ठाउँमा गम्भीर अवस्थामा उद्धार गरेर ल्याइएको छ । तर खराब मौसमका कारण अस्पताल पुर्‍याउन सकिएको छैन ।

मनास्लु क्षेत्रमै इटालीका ३ र ३ नेपाली मनास्लु बेसक्यापमा फसेकाको उद्धार हुन सकेको छैन । यता बिहीबार मात्रै मनाङको नार्पाभूमि गाँउपालिका-५ मा पर्ने हिमलुङ हिमाल आरोहण गरेर फर्किने क्रममा अस्ट्रेलियन नागरिक च्यान चेन टार्कको हिउँमा फसेर मृत्यु भयो । उहाँसँगै गएका अन्य चार पर्यटक सकुसल रहे पनि उद्दार हुन सकेको छैन । मनाङमा अरू कति पर्यटक फसेका छन्, प्रशासनलाई जानकारी छैन । सम्पर्कमा आएकाहरूको भने उद्धार भइरहेको छ ।

मुस्ताङको हिडन भ्याली इलाकामा हिमपातमा फसेका तीन विदेशीसहित १५ पर्यटकलाई शुक्रबार उद्धार गरेर जोमसोम पुर्‍याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमाली क्षेत्रमा फसेका ८ सय ७ जना आन्तरिक र १ सय २७ विदेशी पर्यटकको उद्धार भएको छ ।

जल तथा मौसम विज्ञान विभागले कात्तिक ११ गते दिउँसो २ बजे विज्ञप्ति जारी गर्दै हिमाली र उच्च पहाडि जिल्लामा भारी हिमपातको प्रक्षेपण गरेको थियो । तर, सरकारले तत्काल सचेतना अपनाउँदै पर्यटकलाई रोक लगाएन । जसका कारण कयौं पर्यटक प्रभावित बने ।

अहिले पनि सयौं पर्यटक हिमाली र उच्च पहाडी जिल्लामा फसेको आशंका छ । सरकारले हिमाली र उच्च पहाडि जिल्लामा भ्रमण गर्दा कुनै रेकर्ड प्रणाली व्यवस्थित गरेको छैन् । न कुनै यात्रा सावधानी निर्देशिका नै लागू गरेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।