आईसीसी विश्वकप क्रिकेट लिग टू : नेपालले भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्ने

कार्तिक १४, २०८२ |खेल ब्युरो
आईसीसी विश्वकप क्रिकेट लिग टू : नेपालले भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्ने
Photo Source : CAN

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल अझै पहिलो जितको खोजीमा छ । चार महिना पछि ५० ओभरको फर्म्याटमा फर्किएको नेपालले, टी-२० क्रिकेटको लय समाउन सकेको छैन् । स्टुअर्ट लको टिमले जारी सिरिजमा यूएई र अमेरिकासँगको पहिलाे खेलमा हार बेहोरेको थियाे । 

अमेरिकाले नेपाललाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्यो । दोस्रो खेलमा यूएईले ५ विकेटको जित हात पार्यो । कप्तान रोहित पौडेलको शतकका बाबजुत नेपालले जित हात पार्न सकेन् । नेपालले २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यूएईले ३९ बल बाँकी हुँदा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । 

अमेरिकासँग नेपालले २ सय ६३ रन चेज गर्न सकेन् । सो खेलमा मध्यक्रमका ब्याटर मिलिन्द कुमारले अविजित ७० रन र हर्मित सिंहले ६ विकेट लिएका थिए । दुबै खेलमा नेपालको ओपनिङ जोडी चल्न सकेको छैन् । अमेरिकासँग कुशल भुर्तेल डक आउट हुँदा यूएईविरूद्ध ७ रनमा मैदान बाहिरिए । 

अंक तालिकामा सुधार गर्दै एकदिवसीय जोगाउने दबाब कम गर्न नेपालले अमेरिकासँग जित आवश्यक छ । यो खेलमा प्रशिक्षकले प्लेइङ इलाभेनमा पनि परिवर्तन गर्ने सम्भावना छ । अमेरिका भने लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । तालिकाको सातौ स्थानमा रहेको नेपालको १८ खेलबाट १२ अंक । पुवुदु दशानायकेको टिम २२ खेलबाट ३२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।