
काठमाडौं । नेपाल एथलेटिक्स संघले भारतको झारखण्डमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ ।
संघले शुक्रबार एक कायक्रमबीच खेलाडीहरूलाई नगद प्रदान गरेको हो । यही कात्तिक ६ देखि ८ सम्म भारतको झारखण्डमा आयोजना भएको च्याम्पियनसिपमा २ रजत र ४ कांस्यसहित कूल ६ पदक जितेर नेपाल तेस्रो भएको थियो । पाँच सार्क राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालका तर्फबाट राजन रोकायले १० हजार मिटर र सोमबहादुर कुमालले ८ सय मिटर दौडमा रजत पदक हात पारेका थिए । रजत पदक विजेता दुबै धावकले जनही २५ हजार रूपैयाँ प्राप्त गरे ।
ओलम्पियन सन्तोषी श्रेष्ठ ८ सय र १५ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएकी थिइन् । दुबै स्पर्धामा कान्छिमाया कोजुको किर्तिमान तोड्दै सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान स्थापीत गरेकी थिइन् । दुई कास्य पदक वापत उनलाई ३० हजार नगद सहित सम्मान गरिएको हो ।
यस्तै ५ हजार मिटरमा कास्य पदक हात पारेका मुकेश बहादुर पालले १५ हजार रूपैयाँ प्राप्त गरे । मिक्स रिलेमा सोम बहादुर कुमाल, राम प्रसाद थारू, जयरानी थारू र रमिता थारूको समुहले कास्य पदक प्राप्त गरेको थियो । मिक्स रिलेका कास्य पदक विजेता खेलाडीहरूलाई प्रतिव्यक्त १० हजारका दरले सम्मान गरियो ।
राष्ट्रिय खेलकुदमा उक्त रकम न्युन भए पनि यसलाई सम्मान र प्रोत्साहनको रूपमा लिइदिन संघले अनुरोध गरेको छ ।