काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आर्थिक अनियमिततामा मुछिएका र सरकारको अस्तित्वमाथि नै प्रश्न उठाएपछि राजदूतहरू फिर्ता बोलाउनुपरेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीले बालुवाटारमा शुक्रबार सम्पादकहरूसँग संवाद गर्दै राजदूतहरू फिर्ता बोलाउनुको कारणबारे स्पष्ट पार्नुभएको हो । दलहरूलाई उपेक्षा नगरिएको र संवाद भैरहेको दाबी गर्दै उहाँले सरकार समयमै चुनाव गराउन प्रतिबद्ध रहेको दोहोर्याउनुभयो।
निर्वाचनका लागि छिमेकी मुलुकबाट सात सय सवारी साधनको आश्वासन आएको र गैरघातक हतियार किन्ने तयारी भैरहेको जानकारी प्रधानमन्त्री कार्कीले दिनुभयो । सरकारसँग धेरै अपेक्षा हुनु स्वभाविकै भएको र जेनजीका कुरा सबैले सुन्नुपर्ने बताउँदै उहाँले कानुनी राज स्थापित गर्नबाट पछि नहट्ने उल्लेख गर्नुभयो ।