फायरसाइडमा गगन थापालाई प्रश्न : कांग्रेसले किन हार्‍यो उपचुनाव ?

वैशाख १८, २०८०
फायरसाइडमा गगन थापालाई प्रश्न : कांग्रेसले किन हार्‍यो उपचुनाव ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पुरानो पार्टीका युवा नेता हुन् । नेपाली कांग्रेसले गत वैशाख १० को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग पराजय व्यहोरेपछि पार्टीका नेताहरुले यो हारको समीक्षा गरिरहेका छन् । यसै सन्दर्भमा महामन्त्री थापालाई कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा पवन आचार्यले सोधेका छन्– उपनिर्वाचनमा किन हार्यो कांग्रेस ?

नेपाली कांग्रेसका उदयमान युवा नेताका रुपमा परिचित थापासँग उपनिर्वाचनका साथै नेपाली कांग्रेसको आन्तरिक स्थिति, सरकारको अवस्था र समसामयिक राजनीतिबारे फायरसाइडमा विस्तृत कुराकानी गरिएको छ ।

विगतको तुलनामा केही ‘रिजर्भ’ देखिएका महामन्त्री थापाले भने, ‘यतिबेला के-के छ भनेर सोध्नुभयो भने म भन्न सक्दिनँ । म केही समय सुन्नुपर्छ भन्नेमा छु । सुन्ने हो ।’

अहिले तनहुँको उपनिर्वाचनलाई मात्र हेरेर कांग्रेसको मूल्यांकन गर्न नहुने र समग्रतामा हेर्नुपर्ने बताउँदै थापाले यो उपनिर्वाचनले केही सन्देश दिएको बताए ।

प्रस्तुत त फायरसाइडमा गरिएको कुराकानीको संक्षिप्त अंश :

उपनिर्वाचनबाट कुरा सुरु गरौं । तनहुँमा बर्षौंदेखिको आफ्नो विरासत जोगाउन नसक्दा कांग्रेस महामन्त्रीको हैसियतमा कस्तो महसुस गर्दै हुनुहुन्छ ?

यो उपनिर्वाचन पछाडि केही नेता र केही साथीहरुले ‘यो उपनिर्वाचन हो, एउटा क्षेत्रमा जित्ने वा हार्ने कुराले खासै केही फरक पर्दैन’ भनेको मैले सुन्दै छु । केही नेता र केही साथीहरुले फेरि सबै कुरा सकियो, सिरक ओडेर सुतौं भनेको सुनेको छु । मलाई यी दुईवटै कुरा अतिवादी लाग्छन् । यी दुवै विश्लेषणले नेपाली कांग्रेसलाई क्षति मात्र पुर्‍याउँछ भन्ने म देख्छु ।

म तनहुँ वा चितवन मात्र होइन, बारा पनि सँगै राखेर हेर्छु । किनकि उपनिर्वाचन हेर्‍यो भने– तपाईंले लामो समयदेखि कांग्रेसको विरासत भएको स्थान भन्नुभयो, त्यो ठाउँमा यसभन्दा पहिले पनि रामचन्द्र पौडेलले हार्नुभएको थियो । योभन्दा अघि हामीले चितवनमा हारेको हो । त्यसैले एउटा निर्वाचनलाई मात्र हेर्नुहुँदैन ।

केही समयदेखि नेपाली कांग्रेस नेपालको ठूलो राजनीतिक दल हो । अरुको कुरा छोडौंै, मेरो पार्टी नेपाली कांग्रेसको कुरा गरौं । हामीलाई पार्टीका समर्थक, शुभेच्छुक, मतदाता, खासगरी अझ नौजवानहरुले, युवा मतदाताले एउटा सन्देश दिने प्रयास गरिरहेका थिए ।

म विवेकशील पार्टी स्थापनादेखि पछाडि फर्केर हेर्छु । विवेकशील पार्टी, साझा पार्टीले योभन्दा अघिल्लो निर्वाचनमा काठमाडौंमा ल्याएको मत यो पटक काठमाडौंंमा स्वतन्त्र उम्मेदवार भएर मेयरमा प्राप्त गरेको हो । धरान वा धेरै ठाउँमा त्यो सँगसँगै देखिएको आकर्षण, यो सबै कुराले हामीलाई एउटा संकेत दिइरहेको थियो । सन्देश दिइरहेको थियो । ‘नक’ गर्दै थिए कांग्रेसको ढोकामा हामीलाई । तिमीहरुले हाम्रो कुरा सुन्नुपर्छ भनिरहेका थिए । जुन कुरा म लगायत थुप्रै साथीहरु पार्टी भित्र लामो समयदेखि सुन्नुपर्छ है भन्ने कुरा उठाउँदै आएका थियौं । उठाइरहेका पनि छौं, त्यसलाई पनि छोड्ने होइन ।

यो अस्तिको जुन निर्वाचन छ, जसमा हामीले तालमेल गरेर निर्वाचन गर्‍यौं । त्यसबाट एउटा सफलता प्राप्त गर्‍यौं । त्यसले फेरि आफ्नो भित्र कस्तो सन्देश दियो भने– होइन रहेछ, यो खास नसुने पनि हुने रहेछ जस्तो गर्‍यो ।

यो उपनिर्वाचनको सन्देश पुराना र परम्परागत दल कि सच्चिनु पर्‍यो कि सक्किनका लागि तयार हुनुपर्‍यो भन्ने छ नि ?

म उपनिर्वाचन मात्र भन्दिनँ । अझ पछाडि फर्केर हेर्‍यौं भने विवेकशील पार्टीको स्थापनादेखि लिएर साझा पार्टी बन्दै बीचमा (२०७४ मा) भएको निर्वाचन, स्थानीय निर्वाचन, गत वैशाखको काठमाडौं महानगरपालिकाको निर्वाचनले नै एउटा सन्देश दिएको थियो हामीलाई ।

अहिले उपनिर्वाचनमा एउटा ठूलो आवाजमा अगाडिदेखि आइरहेको कुरा हामीले सुनेनौं वा सुन्न चाहेनौं । अथवा, केहीले सुन्यौं केहीले सुनेनौं । यी कुरालाई एकमुष्ट राखेर हेर्दा योबेला कांग्रेसका समर्थक र शुभेच्छुक साथीहरुले केही कुरा बताइराख्नुभएको छ । केही कुरा भनिराख्नुभएको छ । यसलाई पर्गेल्ने र यसका आधारमा पार्टीले केही निर्मम समीक्षा पनि गर्ने र केही कठोर निर्णयहरु पनि गर्ने हो हामीले ।

यो उपनिर्वाचनका कारण सबैभन्दा दबाब चाहिँ नेपाली कांग्रेसलाई छ भनिन्छ नि ?

यसलाई नेकपा एमालेले कसरी हेर्छ, माओवादीले कसरी हेर्छ, त्यो उहाँहरुको कुरा हो । म फेरि पनि राख्छु – एउटा उपनिर्वाचन तनहुँ, चितवन वा बारा । बारालाई पनि अलग राखेर हेर्दै हेर्दिनँ । बारामा जनमत पार्टीले प्राप्त गरेको मत वा मतदाताहरुको रुझानलाई पनि हामीले सँगै राखेर हेर्नुपर्छ । म के भनिरहेको छु भने– एक वर्षअघि भएको काठमाडौं महानगरपालिकाको निर्वाचनलाई पनि यसैमा राखेर हेर्नुपर्‍यो । नेपाली कांग्रेस पार्टीलाई एकदम स्पष्ट केही सन्देश छन् । यतिबेला के–के छ भनेर सोध्नुभयो भने म भन्न सक्दिनँ । म केही समय सुन्नुपर्छ भन्नेमा छु । सुन्ने हो । सबैतिरबाट धारणा आइरहेको छ । आ–आफ्ना विचार आइरहेका छन् र नागरिकहरुको स्तरदेखि लिएर पार्टीका समर्थक, बैद्धिकहरु सबैको कुरा सुनौं एक पटक । केही कुरा त ठ्याक्कै देख्न सकिन्छ । तपाईंले भनेको कुरामा म असहमति राख्दै राख्दिनँ । नेपाली कांग्रेस पार्टीलाई योबेला कुनै सन्देश छ, त्योअनुसार हामी हिँड्नुपर्छ । हिँडेनौं भने त्यो अनुसारको मूल्य हामीले चुकाउनुपर्छ ।

कांग्रेस सच्चिनुको अर्थ भनेको नेतृत्वको कार्यशैली परिवर्तन मात्र हो कि पार्टी नीतिमै फेरबदल हुनुपर्छ भन्ने हो ?

यो सच्चिने भन्ने कुरा मैले प्रयोग गरेको शब्द पनि भएन, यसलाई यसरी राखौं जस्तो लाग्छ, जस्तो– २०४८ सालमा नेपाली कांग्रेस आम निर्वाचन लड्न गयो । त्योबेला नेपाली कांग्रेसको कार्यालय पनि थिएन । मलाई लाग्छ– मुस्किलले ५० वटा जिल्लामा नेपाली कांग्रेसको कार्य समिति थियो होला । हाम्रो भातृ संस्थामा मैले थाहा पाएसम्म त्योबेला नेपाल विद्यार्थी संघ मात्र थियो । केही पनि थिएन । महिला संघ, ट्रेड युनियन नेपाली कांग्रेस त्यसको नेतृत्व भए पनि हाम्रो संरचना केही पनि थिएन । तर, नेपाली कांग्रेसले आफ्जो जीवनमा सबैभन्दा धेरै मत प्राप्त गर्‍यो । ठूलो पार्टी मात्र भएन, करिब–करिब ३९ प्रतिशत मत प्राप्त गर्‍यो । शानदार विजय प्राप्त गर्‍यो । किन ? किनभने, नेपाली कांग्रेससँग त्योबेला दुईवटा कुरा थिए ।

नेपाली कांग्रेसको नीति भन्नुस्, नेता भन्नुस्, नेतृत्व भन्नुस् वा पार्टी भन्नुस्, त्यसप्रति एउटा ठूलो इज्जत थियो । भरोसा र विश्वास थियो । त्योप्रति माया थियो, आशा थियो । यसले मेरो कुरा सम्बोधन गर्छ, मेरो इच्छा, आकांक्षा यसैले पूरा गर्छ भन्ने थियो ।

त्यसैले, हामी जुन अहिले पार्टी संगठन भन्छौं नि, जसका बारेमा धेरै चिन्ता र छलफल गर्छौं नि, त्यो केही पनि नहुँदै गर्दा निर्वाचनको मतपरिणामका आधारमा पार्टीहरुको लोकप्रियता वा पार्टीप्रतिको जनविश्वास हेर्ने हो भने सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको अवस्था थियो । टेक्निकल र ब्युरोक्रेटिक कुरा एउटा पक्ष भयो होला, त्यो २०४८ सालको नेपाली कांग्रेस अवस्था किन थियो त ? एकछिन हेरौं न ।

कुनै एउटा त्यही नागरिक हेर्‍यो भने त्यसलाई के लाग्थ्यो नेपाली कांग्रेससँग ? नेपाली कांग्रेसको के–के गरेर आयो भन्ने इतिहाससँग मात्र होइन, नेपाली कांग्रेसको नेता, नेतृत्व जे भनौं, त्योप्रति कत्रो ठूलो श्रद्धा थियो, कत्रो ठूलो विश्वास थियो । आज छ त ?

त्यो क्षयीकरणमा नेतृत्वको दोष होला नि ? २०४८ सालको कांग्रेसको अवस्थामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पुगेको छ ?

मैले दोष छैन भन्दै भनिनँ । मैले खाली के भनेको भने अहिले कुनै एउटा घटना वा एउटा प्रकरणलाई मात्रै अथवा एक ठाउँमा मात्रै राखेर यो वा त्यो भनेर हामीले त्यसको हिसाब–किताब ग¥यौंै भने म त एउटा उपनिर्वाचन मात्र भनिरहेको छु । त्यसैले म पटक–पटक के कुरा उठाइरहेको छु भने– तपाईंले भनेजस्तो नेतृत्वको कुरामा हामी कता–कता चुक्यौं होला, संगठनको काममा कहाँ–कहाँ चुक्यौं होला, किन हाम्रो परम्परागतरुपमा नेपाली कांग्रेसलाई मतदान गर्दै आएका मानिसहरु अहिले कांग्रेसलाई मतदान गर्दिनँ भन्ने अवस्थामा पुगे होलान् ? कुनै एउटा मात्र घटनालाई राखेर नहेरौं है । सात–आठ वर्षको कुरामा कहाँ चुक्यौं, त्यसले मात्र हामीलाई बाटो देखाउँछ ।

उपनिर्वाचनकै सन्दर्भमा चर्चा गर्नुपर्दा यो पटक तपाईंहरुको चुनावी अभियान आफ्नो एजेन्डा र विचार मतदाता माझ लैजानुभन्दा पनि मुख्य गरी राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको आलोचनामा व्यतीत भएको जस्तो लाग्दैन ?

मैले आफ्नै कुरा यसो हेर्छु फर्केर । मेरा समर्थकहरु, जसले गएको १५–२० वर्ष विभिन्न अरोह–अवरोहमा मेरो राजनीतिक करिअरमा निस्वार्थ साथ र विश्वास दिइराख्नुभएको, कहिले सल्लाह र कहिले आलोचना दिनुभएको ठूलो पंक्तिले यो पटक निर्वाचन प्रचार–प्रसारका क्रममा मैले प्रयोग गरेको भाषा, शैली वा कतिपय कुरा रुचाउनुभएन । उहाँहरुले मलाई अहिले सुझाव दिइरहनुभएको छ वा चिन्ता व्यक्त गरिरहनु भएको छ । कतिले आलोचना र आक्रोश व्यक्त गरिरहनुभएको छ । यसलाई कसरी मैले लिनुपर्छ भन्ने लाग्छ भने– जो मेरा समर्थक, शुभेच्छुक हुन्, जो पार्टीको सदस्य पनि होइनन् उनले मेरो कुरा चित्त बुझाएनन् भने कहीँ न कहीँ समस्या रह्यो भन्ने कुरा त मैले मान्नुपर्‍यो ।

विचार नै नमिल्ने कम्युनिष्ट पार्टीसँग चुनावी तालमेल गरेर सत्ताका लागि मरिहत्ते गर्दा कांग्रेस आजको अवस्थामा आइपुगेको हो भन्ने बुझाइमा तपाईको धारणा के हो ?

शतप्रतिशत लाग्छ । नीति अधिवेशनमा गर्नुपर्ने थुप्रै कुरा होलान् । तर एउटा कुरा भन्छु तपाईंले उठाएको कुरामा । यो नीति अधिवेशनबाट नेपाली कांग्रेसले योभन्दा अघिको निर्वाचनमा जुनसुकै कारणले भएको भएता पनि निर्वाचन अघि तालमेल गर्ने कुरा हामीले गर्‍यौं, गठबन्धन बनाउने कुरा जुन हामीले गर्‍यौं, त्योप्रतिको हाम्रो आफ्नो भोगाइ, नागरिकको धारणा यी सबै कुराले त्यो गलत थियो भन्ने कुरालाई महसुस गरेर योभन्दा अगाडिका निर्वाचनमा अब नेपाली कांग्रेसले जीवनमा निर्वाचनभन्दा अगाडि परिणाम जे सुकै होस्, सरकारमा पुगियोस् नपुगियोस्, अरु सबै दलहरु मिलुन् तर चुनावअघि कांग्रेसले चाहे त्यो वडाको निर्वाचन होस् चाहे त्यो संघको निर्वाचन होस् कुनै पनि निर्वाचनमा कोहीसँग पनि कहिल्यै पनि कुनै पनि अवस्थामा तालमेल गर्नेछैन । यो कांग्रेसले गर्नुपर्ने एउटा निर्णय हो । यस्ता दर्जनौं निर्णय छन् ।

नेपाली कांग्रेसलाई एमदमै माया गरिरहेका मानिसहरु ठ्याक्कै कहाँबाट हल्लिए त भनेर खोज्दै जाने हो भने मेरो विचारमा– जुन दिन नेपाली कांग्रेसले निर्वाचनभन्दा अगाडि तत्कालिक फाइदाका लागि अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्ने वा आफूले पनि अर्काको मत लिने, जुनलाई हामी गठबन्धन र तालमेल भन्छौं, यो सुरु गर्‍यो ।