सरोकार : बारा- २ का मतदाताका अपेक्षा के र उम्मेदवारका प्रतिबद्धता के ?

वैशाख ५, २०८०
सरोकार : बारा- २ का मतदाताका अपेक्षा के र उम्मेदवारका प्रतिबद्धता के ?

काठमाडौं । वैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ -१ मा उपनिर्वाचन हुँदै छ । रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको बारा-२ मा विभिन्न दलबाट १० र स्वतन्त्र २४ गरी ३४ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।

कुल २ लाख ३ हजार जनसंख्या रहेको यस क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ मतदाता छन् । यादव समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा मुस्लिम, थारु, वैश्य र दलित समुदायको पनि बसोबास छ ।

प्रख्यात गढीमाई मन्दिर रहेको बारा-२ मा धेरैजसो ग्रामीण बस्ती रहेको छ भने अधिकांश बासिन्दा कृषि पेसामा आश्रित छन् । शिक्षा, स्वास्थ्य, रोजगारी यहाँका नागरिकका साझा समस्या हुन् ।

कृषिका लागि उर्वर भूमि रहेको यो क्षेत्रमा किसानको दुःख पनि त्यतिकै छ । समयमै बिउ-विजन, मल अनि उत्पादित उपजले उचित मूल्य नपाउँदा किसान ऋणको चक्रमा फस्दै गएका छन् । यहाँका युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुकमा जान बाध्य छन् ।

६४ दशमलव ५४ प्रतिशत साक्षरता दर रहेको बाराबाट हरेक वर्ष श्रम स्वीकृति लिएर ७ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने गर्छन् । रोजगारीकै लागि भारत जानेहरूको भने कुनै तथ्यांक भेटिँदैन ।

बारा-२का विद्यार्थी अझै पनि उच्च शिक्षाका लागि अन्यत्र जानुको विकल्प छैन । स्वास्थ्य सेवाका लागि यहाँ सुविधा सम्पन्न अस्पताल पनि छैनन् ।

उपनिर्वाचनमा जनताका अपेक्षा के छन् र उम्मेदवारका प्रतिबद्धता के ? उम्मेदवारका आश्वासन कति विश्वसनीयछन् ? आजको सरोकार बारा-२ को उपनिर्वाचनमा केन्द्रित छ ।


Enter Kantipur TV HD
Advertisement