
काठमाडौं । अमेरिकाको न्युयोर्क सहरको मेयरमा डेमोक्रेटिक पार्टीका जोहारन मम्दानी विजयी हुनुभएको छ ।
३४ वर्षीय मम्दानी १० लाखभन्दा बढी अर्थात् ५० दशमलब ४ प्रतिशत मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्वगर्भनर एन्ड्रियु कुओमोले ८ लाख ५० हजार मत र कुर्टिस सिल्भाले १ लाख ४६ हजार मत ल्याए । मम्दानीले न्युयोर्कको पहिलो मुस्लिम मेयरका साथै पहिलो एसियालीमूल र सबैभन्दा कान्छा मेयरको समेत रेकर्ड बनाउनुभएको छ ।
डेमोक्रेटिक पार्टीको प्राइमरीमा मम्दानीसँग पराजित भएपछि कुओमोले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । कुओमो सन् २०११ देखि २०२१ सम्म न्युयोर्क राज्यको गर्भनर हुनुहुन्थ्यो । यस निर्वाचनलाई प्रजातान्त्रिक समाजवाद र पुस्तान्तरको बहसका रूपमा पनि हेरिएको थियो । यो निर्वाचनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय राजनीतिमा पनि महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ ।
युगान्डामा भारतीय मूलका बाबु–आमाको कोखबाट मम्दानीको जन्म भएको थियो । उहाँ ७ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आउनुभएको छ । मम्दानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद मम्दानीका छोरा हुनुहुन्छ ।
यसैगरी भर्जिनियामा डेमोक्रेटिक पार्टीकै अबिगल स्पानबर्गर पहिलो महिला गर्भनरका रूपमा चुनिनु भएको छ । त्यस्तै, घजला हास्मी पहिलो डेपुटी गर्भनरमा विजयी हुने पहिलो दक्षिण एसियाली बन्नुभएको छ । न्युजर्सीमा पनि डेमोक्रेट उम्मेदवार माइकी सेर्रिल गर्भनर पदमा विजयी हुनुभएको छ ।
राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालको एक वर्षमै भएका पछिल्ला निर्वाचन परिणामलाई रिपब्लिकन पार्टी र ट्रम्प्रतिको बढ्दो अस्वीकृतिका रूपमा लिइएको छ ।