एमालेलाई सरकार बाहिर राख्ने प्रधानमन्त्री दाहालको मनसाय देखियो : एमाले उपाध्यक्ष ज्ञवाली (अन्तरवार्ता)

फाल्गुन १२, २०७९ |विकास आचार्य
एमालेलाई सरकार बाहिर राख्ने प्रधानमन्त्री दाहालको मनसाय देखियो : एमाले उपाध्यक्ष ज्ञवाली (अन्तरवार्ता)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँगको सम्बन्ध टुटाएर कांग्रेससँग गठबन्धन बनाएर गल्ती गरेको एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रतिक्रिया छ । दाहालको यो निर्णयले माओवादी पार्टीलाई फाइदा नगर्ने उनले चेतावनी दिएका छन् ।

‘खासगरी प्रचण्डजीमा जुन एक किसिमको अन्योल, अस्थिरता देखियो, यसले वास्तवमा उहाँहरुको राजनीतिक भविष्यका लागि पनि धेरै नोक्सान पुग्न सक्छ’ कान्तिपुर टेलिभिजनको अनलाइन संस्करणलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘एमाले विरोधी गठबन्धन बनाउन उहाँहरू जानुभयो । यसबाट भविष्यमा समाजवादी र माओवादी दुवैलाई क्षति हुन्छ ।’

एमालेविरुद्ध मोर्चाबन्दी गर्दै ८ दलीय गठबन्धन बन्नुमा विदेशी चलखेलले समेत काम गरेको ज्ञवालीको आरोप छ । उनी भन्छन्, ‘यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने जे निष्कर्ष निस्किएको छ, यो दुर्भाग्यपूर्ण छ र अत्यन्त बेठीक छ । यसमा बाह्य शक्तिको चलखेलको पनि एक हदसम्म प्रभाव होला ।’

ज्ञवालीले अगाडि भने, ‘उहाँहरूले एमालेविरोधी मोर्चा बनाउन खोज्दै हुनुहुन्छ । कम्युनिस्ट पार्टीका नाममा देशको एउटा ठूलो कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने उद्देश्यले यो गठबन्धन बनेको छ ।’

एमालेलाई सरकारबाट बाहिर राखेर कांग्रेसलाई भित्र्याउने प्रधानमन्त्री दाहालको मनसाय देखिएको ज्ञवालीको तर्क छ । एमालेले शनिबार बिहानै बैठक बसेर आफ्नो औपचारिक धारणा बाहिर ल्याउने उनले बताए ।

प्रस्तुत छ, एमाले नेता ज्ञवालीसँग गरिएको संक्षिप्त कुराकानीको संक्षिप्त अंश–

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने माओवादीसहितका ८ दलको निर्णयलाई एमालेले कसरी लिएको छ ?

वास्तवमा यो बेठीक भयो । एमाले–माओवादी लगायत दल मिलेर न्यूनतम साझा कार्यक्रम बन्यो, सरकारले पूर्णता पायो, सभामुख, उपभामुखको निर्वाचन सम्पन्न भयो, प्रदेशहरूमा सरकार बने । यो गठबन्धनले धेरै काम अगाडि बढाइसक्यो । त्यति मात्र होइन, केही सकारात्मक संकेत पनि देखिन थालेका थिए । केही राम्रा प्रयास पनि हुँदै थिए । आर्थिक क्षेत्रमा पनि सामान्य सुधार भएको संकेत देखा परेको थियो । फेरि यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने जे निष्कर्ष निस्किएको छ, यो दुर्भाग्यपूर्ण छ र अत्यन्त बेठीक छ । यसमा बाह्य शक्तिको चलखेलको पनि एक हदसम्म प्रभाव होला ।

यसलाई बाह्य शक्तिको प्रभाव भन्न मिल्ला र ?

एक हदसम्म । खासगरी प्रचण्डजीमा जुन एक किसिमको अन्योल, अस्थिरता देखियो, यसले वास्तवमा उहाँहरुको राजनीतिक भविष्यका लागि पनि धेरै नोक्सान पुग्न सक्छ । किनभने, गत निर्वाचनमा पनि धेरै ठाउँमा कांग्रेसको मत माओवादीलाई ट्रान्सफर भएन । यो उहाँहरूले पनि भन्दै आएको कुरा हो, हामीले पनि देखेको कुरा हो । तर २०७४ मा एमालेको मत राम्रैसँग ट्रान्सफर भयो । यो तथ्यगत पुष्टि भएको कुरा हो । यसबाट के पुष्टि हुन्छ भने– एमाले विरोधी गठबन्धन बनाउन उहाँहरू जानुभयो ।

कम्युनिस्ट पार्टीका नाममा देशको एउटा ठूलो कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने उद्देश्यले यो गठबन्धन बनेको छ । यसले देशको राजनीतिलाई पनि ठीक दिशामा लैजाँदैन । मुलुकको समस्या पनि यसले ठीकसँग हल गर्न सक्दैन । यसले हाम्रो स्वतन्त्र परराष्ट्र नीति, तटष्टताको नीतिलाई पनि सन्तुलित ढंगले अगाडि बढाउन सक्दैन र कुनै अग्रगामी काम गर्न सक्दैन । यसबाट भविष्यमा समाजवादी र माओवादी दुवैलाई क्षति हुन्छ । आउने चुनाव अझ ठूलो नोक्सान हुन्छ, । यो अन्तिममा नेपाली कांग्रेसको नेतृत्वमा बन्ने गठबन्धन हो । प्रचण्डजीले बामपन्थी गठबन्धन भत्काएर नेपाली कांग्रेससँग गठबन्धन गर्नुभयो, यसले उहाँहरूको बामपन्थी आवरण उदांगो भयो ।

एमालेले अब के गर्छ ?

भोलि पार्टीको बैठक छ । पार्टी कार्यालयमा बैठक छ ।

अब एमालेले सरकार छाड्छ कि ?

एमाले सरकारबाट बाहिर निस्कियोस् भन्ने यो गठबन्धनको मनसाय छ । किनभने, कांग्रेससँग गठबन्धन भएपछि सरकारमा कांग्रेसलाई पनि समावेश गर्नुप¥यो । कांग्रेसलाई समावेश गरेर एमालेलाई चाहिँ बाहिर राख्ने प्रचण्डजीको उद्देश्य र मनसाय छ । उहाँले नभने पनि मनसाय त्यो देखिन्छ । एउटा कम्युनिस्ट पार्टीलाई गठबन्धनबाट बाहिर राखेर एउटा कम्युनिस्ट विरोधी पुँजीवादी पार्टीलाई गठबन्धनमा भित्र्याउनुले स्वतः के प्रष्ट पार्छ भने प्रगतिशील बामपन्थी गठबन्धनलाई बलियो बनाउने र मुलुकमा समाजवादको आधार तयार गर्नेभन्दा पनि कांग्रेस पार्टीलाई बलियो बनाउनेतर्फ जानुभएको छ । यो गठबन्धनले अन्ततः कांग्रेसलाई नै बलियो बनाउँछ ।

अब सरकारबाट निस्कन तपाईंहरु आफैँ नै तयार हो नि होइन र ?

उहाँहरूले व्यवहारिक रुपमा एमालेलाई बाहिर राख्ने अथवा एमाले विरोधी गठबन्धन बनाउने कुरा उहाँहरूको सहमतिबाट प्रष्ट बताउँछ । उहाँहरूले एमालेविरोधी मोर्चा बनाउन खोज्दै हुनुहुन्छ । 

सम्बन्धित समाचार...

कांग्रेसलाई राष्ट्रपति दिन ८ दलमा सहमति, एमाले रक्षात्मक
राष्ट्रपतिको चुनाव : कांग्रेसलाई ३१ हजार मतभारको सुविधाजनक बहुमत पुग्ने


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।