राष्ट्रपतिको चुनाव : कांग्रेसलाई ३१ हजार मतभारको सुविधाजनक बहुमत पुग्ने

फाल्गुन १२, २०७९ |अञ्जना लामिछाने
राष्ट्रपतिको चुनाव : कांग्रेसलाई ३१ हजार मतभारको सुविधाजनक बहुमत पुग्ने

काठमाडौं । राष्ट्रपतिको चुनावमा ८ दलको समर्थन जुटेपछि नेपाली कांग्रेसलाई सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।

राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ६ सय २८ छ । बहुमतका लागि २६ हजार ३ सय १५ मतभार चाहिन्छ ।

कांग्रेसको पक्षमा ८ दल मिल्दा कुल ३१ हजार ७ सय ४२ मतभार हुन जान्छ । यो कुल मतभारको सुविधाजनक बहुमत हो ।

८ दलमा सहभागी नेपाली कांग्रेसको १६ हजार १ सय ४२ मतभार छ । माओवादीको ७ हजार ६ सय ४९ मतभार छ भने एकीकृत समाजवादीको २ हजार ५ सय ७४ मतभार छ ।

जनता समाजवादी पार्टीको २ हजार १ सय ४५ मतभार छ । त्यस्तै, जनमत पार्टीको १ हजार २ सय ४२ र लोसपा ९ सय ७१ मतभार छ । नागरिक उन्मुक्तिको ८ सय १३ छ । भने राष्ट्रिय जनमोर्चाको २ सय ६ छ ।

नयाँ बनेको ८ दलीय गठबन्धनको विपक्षमा रहेको नेकपा एमालेसँग १५ हजार २ सय ३३ मतभार छ । यसमा २ हजार ४ सय ५० मतभार रहेको राप्रपा र १ हजार ५ सय १ मतभार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सघाएमा एमालेका उम्मेदवारको पक्षमा १९ हजार १ सय ८४ मात्र पुग्छ ।

अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले यही फागुन २५ र चैत ३ गते हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगले संघीय संसदका ३ सय ३२ र ५ सय ५० जना प्रदेश सभा सदस्यको नाम प्रकाशित गरेको हो । राष्ट्रपतिको चुनावमा राष्ट्रिय सभाका सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले मतदान गर्छन् ।

आयोगले बुधबार मतदाताको नाम सार्वजनिक गरेर उजुरी दिने समय विहीवार १२ बजेसम्म तोकेको थियो । जसमा १ जनाको नाम मतदाता नामावलीमा समावेश गरिनुपर्ने र ४ जनाको नाम सच्याउन निवेदन परेको थियो । उक्त विवरण समावेश गरी आयोगले आज ८ सय ८२ जनाको नाम प्रकाशित गरेको हो ।

सम्बन्धित समाचार...

कांग्रेसलाई राष्ट्रपति दिन ८ दलमा सहमति, एमाले रक्षात्मक

राष्ट्रपति निर्वाचनमा मतदानको व्यवस्था प्रदेशमा हुन सकेन, काठमाडौं नै धाउनु पर्ने बाध्यता (भिडियो रिपोर्ट)


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement