कांग्रेसलाई राष्ट्रपति दिन ८ दलमा सहमति, एमाले रक्षात्मक

फाल्गुन १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसलाई राष्ट्रपति दिन ८ दलमा सहमति, एमाले रक्षात्मक

काठमाडौं । बालुवाटारमा बसेको ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति जुटेको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठूलो दल कांग्रेसबाट राष्ट्रपति बनाउन भनेर प्रस्ताव गरेको एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद सांसद प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, ‘८ दलको बैठकमा कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको छ । पात्रको बारेमा निर्णय भएको छैन । उम्मेदवार को बनाउने भन्ने कांग्रेस पार्टीले निर्णय गर्छ ।’

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘आजबाट हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अगाडि बढाऔँ । सबै दल मिलेर जाऔँ । स्थायित्वका लागि काम गरौं । र सत्ता समीकरणमा पनि एकताबद्ध भएर अगाडि बढौँ, भन्नुभयो ।’ आजको बैठकमा उपराष्ट्रपति र पावर सेयरिङको विषयमा कुनै निर्णय नभएको उनको भनाइ थियो ।

कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले सहमति जनाएका हुन् । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार भने तय गर्न बाँकी छ । भोलि दिउँसो १ बजे राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने ८ दलको तयारी छ ।

यसअघि दिउँसो २ बजे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको भयो । तर, ओली साढे २ बजेपछि बालुवाटार प्रवेश गरे । दुई घण्टासम्म छलफल भए पनि दाहाल र ओलीबीच सहमति जुटेन ।

साढे ४ बजे बालुवाटारबाट बाहिरिएका ओलीले लगत्तै महाराजगञ्ज पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरे ।

माधव र ओलीबीच भेट भइरहँदा उता कांग्रेस नेताहरु बालुवाटारमा प्रवेश गरिसकेका थिए । चार दलको भनिएको साँझको बैठकमा लोसपा नेता महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्रीसमेत रहेका जनमत पार्टीका नेता अब्दुल खान पनि मिसिए । त्यहाँ राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी र दुर्गा पौडेल पनि सहभागी बने ।

यसअघि नेकपा एमालेले राष्ट्रपति आफ्नो हातबाट गुम्ने अवस्था आए माधव नेपाल र महन्थ ठाकुरमध्ये एक जनालाई राष्ट्रपतिमा अघि सार्न सक्ने चर्चा नचलेको होइन । तर, शुक्रबार साँझसम्म आइपुग्दा ८ दलका नेताबीच नयाँ ध्रुवीकरण बनेको छ भने नेकपा एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।

८ दल सम्मिलित नयाँ गठबन्धनमा कांग्रेसलाई राष्ट्रपति दिने सहमतिसँगै पुस १० गते बनेको संत्तारुढ गठबन्धन ६५ दिनमै संकटमा परेको छ ।

सम्बन्धित समाचार...

राष्ट्रपतिको प्रस्तावक र समर्थक नबन्ने राप्रपाको निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.