काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘माओवाद’ बारे पुनर्विचार गरिने जनाएका छन् ।
कान्तिपुर टेलिभिजनको ‘टफटक’ मा प्रधान सम्पादक दिलभुषण पाठकसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले त हामी माओवाद भन्दैछौं । यसबारेमा हामी रि-भिजिट गर्दैछौं ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले अर्का उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वयं लामिछानेले नै प्रष्ट पार्नुपर्ने भन्दै यो विषय बहसमा रहेको तर आफूले केही बताउन नसक्ने स्पष्ट पारे ।
तीन उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई राखिएकोमा असन्तुष्ट भई केही दिन मन्त्रालय नगएको चर्चाबारे प्रश्न राख्दा श्रेष्ठले भने, ‘ म बरियता क्रमसम्बन्धी मुद्दाका कारणले मन्त्रालय गइनँ भन्ने कुरा सत्य होइन । फेरि त्यो पनि होइन भन्ने होइन । यो अलिकति छलफल भएकै मुद्दा चाहिँ हो । ’
प्रधानमन्त्री पुष्पकमल दाहालले दौरा लगाएकोमा खुशी लागेको बताउँदै श्रेष्ठले कान्तिपुर टेलिभिजनसँग भने, ‘कहिल्यै नलगाएको हुँदा यो लगाउनै नहुने हो कि भन्ने विचार गयो । लगाउन त हुन्छ नि । राम्रै कुरा हो नि भनेपछि किन नगर्ने भनेर उहाँले लगाउनुभयो, मलाई खुसी लाग्यो ।’
उपप्रधानमन्त्री श्रेष्ठलाई टफटकको र्यापिड फायरमा सोधिएका केही प्रश्नहरु–
नारायणकाजी श्रेष्ठ भौतिकवादी कि अध्यात्मिक ?
म द्वन्द्वात्मक भौतिकवादी, जसमा अध्यात्मको एउटा पक्ष पनि पर्छ ।
तपाईंको राजनीतिक जीवन आत्मसन्तुष्टि कि भवितव्य ?
मेरो आत्मसन्तुष्टि पनि होइन, भवितव्य नि होइन । मेरो राजनीतिक जीवन मुक्ति यात्राको सचेत अभिन्न अंग हो ।
माओवादीको सही रोजाइ ‘घर कि डेरा’ ?
घर नै हो नि माओवादी । यसले घर नै राम्रो बनाउँछ ।
अहिलेको गठबन्धन आवश्यकता कि बाध्यता ?
अहिले त राष्ट्रिय आवश्यकता नै बन्यो । संयुक्त सरकारको सन्दर्भमा कहिले कता, कहिले कता भइरहन्छ ।
चुनावमा कांग्रेससँगको गठबन्धन सही वा गलत ?
पार्टीले निर्णय गरेरै हामी सरकारमा गएका हौं ।
पार्टीले गलत निर्णय पनि गर्छ नि ?
यो विषयमा हाम्रो पार्टीमा छलफल भएको थियो तर पार्टीले निर्णय गरेर हामी चुनावमा गएका हौं ।
एमाले र माओवादीको भविष्य : एकीकरण कि तालमेल ?
अहिले तालमेल । सम्भावना भयो भने एकीकरण ।
माओवाद कि विचारधारा ?
न माओवाद न विचारधारा । अहिले त हामी माओवाद भन्दैछौं । यसबारेमा हामी ‘रि–भिजिट’ गर्दैछौं ।
सफा टेम्पो कि पजेरो ?
पजेरो हुँदै होइन । आम रुपमा जनताले प्रयोग गर्ने होइन । पजेरो पनि मान्छेले प्रयोग गर्छन् । तर सार्वजनिक यातायातको व्यवस्थापन आवश्यक छ ।
ब्रह्मचार्य कि घर गृहस्थी ?
ब्रह्मचार्य र गृहस्थीको परिभाषा आ-आफ्नो रहेछ । यसअर्थमा म घर गृहस्थ छैन ।
एक शब्दमा- केपी शर्मा ओली ?
केपी शर्मा ओली तेज मान्छे हुनुहुन्छ । उहाँको मिहिनेत गर्ने बानी पनि राम्रो छ । कतिपय विषयमा उहाँको अरु राजनीतिक नेताभन्दा राम्रो क्षमता छ । तर कतिपय कुरामा उहाँले गम्भीर आत्मसमीक्षा गर्न बाँकी छ ।
एउटा शब्दमा- पुष्पकमल दाहाल ?
पुष्पकमल दाहाल अत्यन्तै गतिशील र सिर्जनशील मान्छे हो । उहाँले पनि कतिपय पक्षमा आत्मालोचना गर्नुपर्छ ।
शेरबहादुर देउवा, एक शब्दमा ?
लामो लोकतान्त्रिक इतिहास भएको व्यक्तित्व हुनुहुन्छ । तर उहाँले अब सायद राजनीति जति गरियो धेरै गरियो भनेर सोच्ने अवस्था छ कि ? नेपाली कांग्रेसको उहाँ सभापति हुनुहुन्छ । म उहाँलाई आफैँले सोच्न अनुरोध गर्छु ।
एक शब्दमा- डा. बाबुराम भट्टराई ?
एउटा बौद्धिक राजनीतिज्ञ । अरु कुरा उहाँले सोच्नुपर्छ ।
माधवकुमार नेपाल ?
माधवकुमार नेपाल तुलनात्मक रुपमा स्वच्छ राजनीतिज्ञ । राजनीतिक भूमिकाका बारेमा कसरी अगाडि बढ्ने उहाँले सोच्नुपर्छ ।
गगन थापा ?
युवा हुनुहुन्छ, गतिशील हुनुहुन्छ । तर उहाँले कसरी अगाडि बढ्ने भनेर वस्तुवादी र वास्तविक भएर सोच्नुपर्छ ।
एक शब्दमा राजेन्द्र लिङदेन ?
राजेन्द्र लिङ्देनले पछिल्लो समय आफ्नो पार्टीलाई विकास गर्नुभयो । उहाँले एजेण्डाका बारेमा पुर्नविचार गर्नुपर्छ ।
रवि लामिछाने ?
रवि लामिछाने भर्खरै आउनुभएको छ । मैले धेरै टिप्पणी गर्न मिल्दैन, उहाँ सरकारमा पनि हुुनुहुन्छ ।
भीम रावल ?
भीम रावलको थुप्रै देशभक्ति अडानप्रति सहमत छु । उहाँले अबको भूमिकाका बारेमा सोच्दै हनुहुन्छ होला ।
घनश्याम भूसाल ?
उहाँ बौद्धिक प्रतिभा हो । उहाँले नेपाली बामपन्थी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बारेमा अझै ठोस भूमिका निर्धारण गर्नुपर्छ ।
मोहनविक्रम सिंह ?
मोहनविक्रम सिंह अत्यन्तै धेरै गुण प्रतिभा भएको आदरणीय नेता हुनुहुन्छ । तर कति हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुहुन्छ, यसबारेमा उहाँले सोच्नुपर्छ ।
रामबहादुर थापा बादल ?
मेरो पुरानो मित्र हो । उहाँ अहिले कसरी अगाडि बढ्ने भनेर आफ्नो भूमिकाबारे सोच्दै हुनुहुन्छ होला ।
ओनसरी घर्ती मगर ?
ओनसरी घर्ती मगरले अपेक्षा नगरेका बेला पनि सभामुख बनेर राम्रो भूमिका निर्र्वाह गर्नुभयो । अहिले पनि उहाँले राजनीतिमा अझ राम्रो भूमिका निर्वाह गर्न सक्नुपर्छ । अझै मिहिनेत गर्नुपर्छ ।
उपेन्द्र यादव ?
उपेन्द्र यादवले अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो अडान कायम राख्नुभएको छ । यो कुरालाई कायम राख्दै उहाँले अझ समन्वयात्मक भूमिका खेल्नुपर्छ ।
नेत्रविक्रम चन्द विप्लव ?
उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी क्रान्तिकारी तर वस्तुवादी ढंगले अगाडि बढाउने भन्ने बारेमा छलफल गर्न जरुरी छ ।
बालेन्द्र शाह ?
बालेन्द्र शाहलाई राम्रो काम गर्नुहोस् भन्ने शुभकामना छ ।
हर्क साम्पाङ ?
शुभकामना छ ।
सीके राउत ?
अहिले छलफल भइरहेको छ । उहाँलाई पनि शुभकामना छ ।