विगतमा दुई पटक, दुई बेग्लाबेग्लै ठाउँबाट निर्वाचित भइसकेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यसपालि रौतहट निर्वाचन क्षेत्र १ बाट चुनावी मैदानमा उत्रिएका छन् ।
कान्तिपुर टेलिभिजनको ‘टफटक वीथ दिलभुषण पाठक’ कार्यक्रममा बोल्दै उनले अहिले चलिरहेको ‘नो नट अगेन’ अभियानप्रति आफू डराएको नभए पनि जनताले प्रत्येक व्यक्ति र पार्टी दुवैको राम्रो मूल्याङ्कन गरेर बसेको बताएका छन् ।
आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा नरहेको नेता नेपालले स्पष्ट पारेका छन् । त्यस्तो प्रणाालीले तानाशाह जन्माउने नेता नेपालको विश्लेषण छ । माओवादीले भनेजस्तो पूर्ण समानुपातिक निर्वाचन प्रमाणी पनि सही नभएको उनले बताएका छन् ।
यसपटकको चुनावमा कुनै दलको बहुमत नआउने तर वाम–लोकतान्त्रिक गठबन्धनले आरामदायी बहुमतको सरकार बनाउने नेता नेपालले बताए । नेकपा एमाले पहिलो दल नबन्ने दाबी गर्दै उनले ‘दोस्रो वा तेस्रो चाहिँ पक्कै बन्ने’ बताए ।
आसन्न आम निर्वाचन र त्यसपछिको सत्ता समीकरणबारे नेता नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
अध्यक्षज्यू, चुनाव कत्तिको लागेको छ ?
चुनाव त लाग्नैपर्यो । चुनावको गर्मी भनौँ वा चुनावको ज्वरो भनौँ, यो बढ्दो छ । तिहार र छठ पर्वपछि खास गरी तराईका क्षेत्रहरूमा चुनावले बिस्तारै गति लिँदै गइरहेको छ ।
तपाईँ आफ्नो पाँच दशक भन्दा लामो राजनीतिक जीवनको सबैभन्दा कठिन परीक्षामा हुनुहुन्छ हैन ? ६९ वर्षको हुनुभयो, अहिले दिनको कति घण्टासम्म दौडधुप गरिरहनुभएको छ ?
दौडधुप त दिनैभरि छ । बिहान ७ बजेदेखि लिएर बेलुका १० बजेसम्म हिँडिरहेको छु । अघिल्लो दिन बारा पुगियो भने त्यसको भोलिपल्ट सुदूरपश्चिमको दार्चुला पुग्नुपर्ने कार्यक्रम हुन्छन् । बैतडी, हुम्ला, जुम्ला पुग्नुपर्यो भन्ने माग हुन्छ । म अब त्यहाँ जाने कि आफ्नो निर्वाचन क्षेत्रमा जाने भन्ने अलमलमा छु ।
हो नि, तपाई अहिले रौतहट क्षेत्र नम्बर एकबाट गठबन्धनको उम्मेदवार बन्नुभएको छ । मत माग्न सबै वडामा पुगिसक्नुभयो ?
हामीकहाँ ४१ वटा वडा छन् । पुग्न त प्रत्येक वडामा पुगिसकेका छौँ तर वडाभित्रका टोलटोलमा जानुपर्ने आवश्यकता छ । प्रत्येक घरमा जाने अभियान पनि हामीले चलाएका छौँ । सबै ठाउँमा मै आफैं पुग्न त सम्भव पनि छैन तर वडाभित्रका खास–खास ठाउँमा जनतालाई जम्मा गरेर सम्बोधन गर्ने सोच बनाएर हामी गएका छौँ ।
तपाई काठमाडौँ क्षेत्र नम्बर २ लाई छोडेर रौतहट किन जानुभएको ? काठमाडौँका जनताले हराउँछन् भन्ने डर हो ?
मैले पहिलोचोटि प्रत्यक्ष चुनाव २०५६ सालमा लडेँ । त्यो भन्दा पहिले म राष्ट्रिय सभामा थिएँ । म रौतहट १ र २ दुवै क्षेत्रबाट निर्वाचित भइसकेको उम्मेदवार हुँ । २०७० को चुनावमा म काठमाडौँबाट पनि निर्वाचित भएको थिएँ । संविधान जारी भइसकेपछि चाहिँ कुनै एउटा क्षेत्रमात्रै रोज्नु पर्ने स्थिति बन्यो । त्यसकारण मप्रति माया र सद्भाव काठमाडौँ वा रौतहट दुवै क्षेत्रका जनताको बराबरै हुँदाहुँदै पनि यसपटक मैले रौतहट रोज्नु परेको हो ।
अरुबेला दुई पटक वा दुई–दुई ठाउँबाट जिते पनि यसपटक जनताले मत नदेलान् कि भन्ने भय कति छ ? यसपटक फेरि जितिन्छ भन्ने विश्वास लाग्छ यहाँलाई ?
विश्वास छ तर विश्वासको नाउँमा चुनावी अभियानमा खेलाँची भने गर्नुहुँदैन । जुट्नुपर्छ, जनताको माझमा जानुपर्छ, जनताका कुरा सुन्नुपर्छ र जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ ।
अध्यक्ष भएपछि जसरी अरू दलका अध्यक्षहरू आफ्ना उम्मेदवारको क्षेत्रमा गएर भोट माग्नका लागि आमसभाहरू गरिरहेका छन् । तपाई जितिन्न कि भन्ने भयले आफ्नै क्षेत्रमा केन्द्रित हुनुभएको हो ?
होइन । म रौतहटभन्दा बाहिर पनि गएको छु । जनकपुर पनि पुगेको छु, बारामा पनि गएको छु । सातवटै प्रदेशसभाहरूलाई, प्रदेश कार्यकर्ता भेलाहरूलाई सम्बोधन गर्ने काममा म आफैं गएको छु ।
प्रचण्डजी आफ्नै गोरखामा मत माग्न गइरहेको देख्छु । तपाई आफैं पनि आफ्नै रौतहटमा केन्द्रित हुनुहुन्छ, शेरबहादुर देउवाजी आफ्नै डडेलधुरामा । त्यत्रो गठबन्धन गर्दा गर्दै पनि मनमा अझै हारिन्छ कि भन्ने भय छ ?
होइन । हामी त धनगढी, सुर्खेत, पोखरा, बुटवल, विराटनगर, जनकपुर र बागमतीमा पनि गयौँ । तर, समय कम भएको हुनाले यसबीचमा आफ्ना मतदाताकहाँ मत माग्न त पुग्नु पर्छ नै । आफ्नो जिल्लामा घुम्नुपर्ने आवश्यकता पर्छ । तैपनि समय निकालेर अरू ठाउँ जाने काम पनि सबैले गर्दै हुनुहुन्छ जस्तो मलाई लाग्छ ।
गठबन्धन भने पनि नेताहरू आफ्नै ठाउँतिर प्रचार–प्रसारमा व्यस्त भइरहेको देख्दाखेरि चाहिँ कतै मतदाताले गठबन्धनमा केही गडबड छ भन्नेखालको अर्थ लगाइरहेका त छैनन् ? होइन भने तपाईँहरू एक ठाउँमा किन देखिरहनुभएको छैन ?
हामीले आवश्यकता पर्दाखेरि त सँगै देखिने नै हो तर आफ्नो निर्वाचन क्षेत्रका मतदाताको आ–आफ्नै माग हुन्छ । त्यसलाई पनि ध्यानमा राख्ने हो । आफ्नो जितलाई सुनिश्चत गर्ने काममा त जुट्नैपर्छ । त्यससँगै गठबन्धनका सबै उम्मेदवार सबैले जितून् भन्ने चाहना पनि राख्नै पर्छ ।
गठबन्धनका बारेमा यति धेरै चर्को नारा लगाइयो । मुलुक जोगाउन, व्यवस्था जोगाउन गठबन्धन नभई हुँदैन पनि भनियो । बिनागठबन्धन त निर्वाचनका लागि आँट पनि गरिएको देखिएन । तर चुनाव लागिसक्दा पनि तपाईँहरूले गठबन्धनको एउटा संयुक्त घोषणापत्र बनाउन सक्नुभएन । हाम्रा मुद्दाहरू यी हुन् भनेर औपचारिकताका साथ जनतामाझ आउन सक्नु भएन है?
त्यस्तो होइन । गठबन्धनका हामी तीन नेताहरूले हाम्रो संयुक्त प्रतिवद्धता पत्र तयार गरेर हस्ताक्षर सहित छापेर बाँडेका पनि छौँ । विस्तृतमा नभए पनि दुई पानामा हाम्रो मुद्दाका निचोड त्यसमा निकालिएका छन् । हामीले राज्यका सबै विषयहरूलाई समेटेर शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिलगायतका सबै क्षेत्रको कस्तो व्यवस्था हुनुपर्छ भनेर, ती सम्बन्धी समस्या कसरी समाधान गर्नुपर्छ भनेर सबै कुराको निचोड त्यहाँ निकालेका छौँ ।
यहाँहरूले गठबन्धन दश/पन्ध्र वर्ष चल्छ भनिरहनुभएको छ । त्यो प्रतिवद्धता चाहिँ तपाईँले अघि भनेजस्तै घोषणापत्र नै हो भने पनि चुनावी घोषणापत्र मात्रै हो कि गठबन्धनको दीर्घकालीन आधार पत्र पनि हो ?
हामीले अलग–अलग दलका घोषणापत्रहरू अलग–अलग नै निकालेका छौँ । त्यसमा धेरै कुराहरू त साझा नै होलान् । पछि गएर सरकार बनाउने स्थिति बनिसकेपछि साझा प्रतिवद्धता र साझा घोषणापत्र तयार गर्नुपर्ने अवस्था बन्छ । त्यो नीति तथा कार्यक्रममा प्रतिविम्वित हुनुपर्छ । चुनावमा आउने परिणामका आधारमा बाँकी कुराको टुङ्गो लगाउनुपर्छ ।
विभिन्न दलहरूमा अलग खालको संस्कार रहेको पाइन्छ । अहिले व्यक्तिवाद चरम सीमामा पुगेको छ । तपाईँले भनेजस्तो आफ्नै दलभित्रका मान्छेले पनि भोट नदिनेखालको प्रवृत्ति देखिएको छ ।
अहिले आमरुपमा उठेको कुरा चाहिँ ‘यो गठबन्धनको आयु मङ्सिर ४ गतेको साँझ ५ बजेसम्म मात्र हो’ भन्ने छ । किनभने गठबन्धनबाटै बागी उम्मेदवारहरू खडा भएका छन् । तपाईँहरूका गठबन्धनका उम्मेदवारहरू पनि डराइरहेको अवस्था छ । अर्को पक्ष तपाईँहरूको आफ्नो मत पनि गठबन्धनका उम्मेदवारलाई जान्छ कि जाँदैन भन्ने भय तपाई सबै नेताहरूको मनमा छ....
अब विरोधीहरूले प्रचार गर्ने त्यसैगरी हो । आशावादीहरूले चाहिँ गठबन्धनको आयु धेरै वर्ष हो भन्ने हो । तर एउटा कुरा के हो भने विभिन्न दलहरूमा अलग खालको संस्कार रहेको पाइन्छ । अहिले व्यक्तिवाद चरम सीमामा पुगेको छ । तपाईँले भनेजस्तो आफ्नै दलभित्रका मान्छेले पनि भोट नदिनेखालको प्रवृत्ति देखिएको छ ।
प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । तर तपाईँको दलले चाहिँ प्रतिनिधिसभा तर्फ २० र प्रदेशसभा तर्फ ५२ निर्वाचन क्षेत्रमा चुनाव लड्दैछ । यो स्थिति तपाई र तपाईँको दलका लागि कत्तिको उत्साहप्रद हो ?
हाम्रो दलबाट प्रतिनिधिसभामा कम्तीमा पनि २८/३० उम्मेदवारको अपेक्षा थियो । त्यो त हुन सकेन । तर, के छ भने हामीले यस्ता निर्वाचन क्षेत्रहरू रोजेका छौँ, जसमा हामी जित्न सक्छौँ । त्यसो हुनाले हामीले हाम्रा सबै सिट जित्ने सम्भावना छ । हाम्रो आकलन त्यही छ । हाम्रा उम्मेदवारको सङ्ख्या २० भएको हुनाले हाम्रो दलचाहिँ चौथो हुने आशा गरेका छौँ ।
म तपाईँकै दृष्टान्त दिन्छु । २०५६ सालमा रौतहट ४ मा काँग्रेसका उद्धव ढकाललाई हराएर तपाई निर्वाचित हुनुभयो । २०६४ मा काठमाडौँ २ र रौतहट निर्वाचन क्षेत्र ६ बाट चुनाव लड्नुभयो तर दुवै क्षेत्रबाट माओवादीका उम्मेदवारले हराइदिए । अहिले यस्तो अवस्था आयो कि माओवादी वा काँग्रेस दुवैले तपाईँलाई भोट नहालिकन जित्ने अवस्था छैन...
अब यस्ता कुराका बारेमा मैले अरू केही भन्न मिल्दैन । तर, त्यसबेलाको चुनाव केपी ओलीले पनि हारेकै हो । विद्या भण्डारीले पनि हारेकै हो । त्यसबेला अरू धेरै दिग्गजले पनि हारेकै हो । तर, मैले चुनाव जनताको मतले हारेको भने होइन, बुथ कब्जा भएर हारेको हो । मेरै अगाडि बुथ कब्जा भएको देखेको छु ।
केपी ओली सुध्रिनेवाला छैनन् भनेर घनश्याम भुसालले पटक–पटक मलाई भन्ने गर्नुहुन्थ्यो । उनी नेतृत्वमा रहेसम्म एमाले पार्टी सुध्रिनेवाला छैन । त्यसले कम्युनिस्ट पार्टीको चरित्र गुमाउँदैछ ।
अहिले तपाईँहरूको जुनखालको तामझाम छ, त्यसका आधारमा बाम लोकतान्त्रिक गठबन्धनले यसपटक कति सिट जित्छ भन्ने अनुमान छ ?
बाम लोकतान्त्रिक गठबन्धनले आरामदायी हिसाबले बहुमत ल्याउँछ । तर, अहिले सङ्ख्यामा बोलेर भोलि मुखमा पट्टी लाउनुपर्ने स्थितिमा जान भने म चाहन्नँ ।
त्यसोभए त्यत्रो धेरै विद्रोह गरेर हिँडेको एमालेले कति सिट जित्ला ?
स्थानीय तहको चुनावमा त देखिहाल्नुभयो । तर, अहिलेको सन्दर्भमा एमाले पहिलो स्थानमा आउने त कल्पना नै नगरे हुन्छ । दोस्रो र तेस्रो मध्ये एउटा चैँ पक्का हुन्छ ।
तपाईँलाई अन्तिम अवस्थामा साथ नदिएका दुई भाइ थिए नि १० भाइमध्ये; घनश्याम भुसाल र भीम रावल । टिकट पाएनन्, उनीहरूको विषयमा तपाईँको केही टिप्पणी छ ?
घनश्याम भुसाल यस पटक स्वतन्त्र भएर गठबन्धन दलको उम्मेदवारका रूपमा उभिनुभएको छ । केपी ओली सुध्रिनेवाला छैनन् भनेर उहाँले पटक–पटक मलाई भन्ने गर्नुहुन्थ्यो । केपी ओली नेतृत्वमा रहेसम्म एमाले पार्टी सुध्रिनेवाला छैन । त्यसले कम्युनिस्ट पार्टीको चरित्र गुमाउँदैछ । त्यो गुटमा परिणत भइरहेको छ । मलाई लाग्छ– घनश्याम भुसाल, भीम रावल र मेरो पछिल्लो विश्लेषण मिल्दोजुल्दो छ । अब अहिले चुनावका बेला धेरै कुरा गर्ने भन्दा पनि समय आएपछि बसेर सबै कुराको समीक्षा गर्नु उपयुक्त हुन्छ ।
‘बिना ढेउवाके फ्री भिसा र टिकट’ भनेर तपाईँले बोलेको एउटा भाषणको चौतर्फी आलोचना भयो नि ?
कुन गलत कुरा गरेँ मैले ? पैसा नलाग्ने कुराको पैसा तिरेर जानु भन्ने मैले ? त्यहाँको कमिसन एजेन्टलाई पैसा खुवाऊ भन्ने मैले ? दलालहरूलाई घुस देऊ भन्ने मैले ? सरकारका कर्मचारीलाई पैसा देऊ भन्नुपर्ने मैले ? पैसा मागिरहेका ठगहरूको फन्दामा नपर भन्नु गलत हो ?
प्रश्न तपाईँले के भन्नुभयो भन्ने होइन, तपाईँले कुन समयमा भन्नुभयो भन्ने हो नि ? चुनावको बेला छ, निर्वाचन आयोगले आचारसंहितामा प्रष्ट भनेको छ कि निर्वाचनमा असर पार्ने गरी आश्वासन दिन पाइँदैन ।
हेर्नुस्, मलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको पनि हो । मैले उहाँहरूलाई कसरी भाषण गर्नुपर्ने हो भनेर पनि सोधेँ । सडक बन्छ भन्ने कुरा भन्ने कि नभन्ने ? पुल बनाउँछु भन्ने कि नभन्ने ? शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा मेरो भूमिका रहन्छ भन्ने कि नभन्ने ? स्वास्थ्यको व्यवस्था सुधार्छु भन्ने कि नभन्ने ? आश्वासन हो कि के हो त्यो ?
मैले त नेपाल सरकारको नीतिप्रति नागरिकलाई सचेत गराउन पो खोजेको हुँ । जनता समस्या भोगिरहेका छन् भने त्यसको समाधान सम्बन्धी कुरा मैले उनीहरू सामु भन्न त पाउनु पर्यो नि ।
म र मेरो पार्टी शासकीय स्वरूप बदल्ने पक्षमा छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति दुवै ठीक होइन । पूर्ण समानुपातिक प्रणाली पनि ठीक होइन ।
अर्को मुद्दा के छ भने, विभिन्न दलहरूले हाम्रो शासकीय स्वरूपका बारेमा पनि आफ्ना धारणा ल्याइरहेका छन् । संविधान एकातिर छ, त्यसको कार्यान्वयन भएको कत्ति पनि भएको छैन । आज त्यो शासकीय स्वरूप तपाईँहरूले आफू अनुकूल फेर्ने बताइरहनुभएको छ...
अरूको कुरामा म सहमत छैन । म र मेरो पार्टी शासकीय स्वरूप बदल्ने पक्षमा छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति दुवै ठीक होइन । पूर्ण समानुपातिक प्रणाली पनि ठीक होइन भन्नेमा म प्रष्ट छु ।
अध्यक्षज्यू, अहिले यो ‘नो नट अगेन’ भन्ने सुन्नुभएको छ ? उनीहरूले त एकपटक उच्च तहमा पुगेर राज्यबाट लाभ लिइसकेका व्यक्तिहरूलाई यस पटक ठाउँका ठाउँ हराउनुपर्छ भनिराखेका छन् नि...
सुनेको छु । कसले के–के काम गरेका छन् भन्ने कुरा आम मतदाताले बुझिसकेका छन् । जनताले प्रत्येक व्यक्ति र पार्टी दुवैको राम्रो मूल्याङ्कन पनि गरेर बसेका छन् । मैले बिराएको केही छैन । बिराएपछि न डराइन्छ, नबिराएपछि किन डराउनु ।
चुनावपछिको सत्ता समीकरण चैँ कस्तो हुन्छ ?
चुनावपछिको सत्ता समीकरणमा यो गठबन्धन कायम रहन्छ ।
गठबन्धनको भावी प्रधानमन्त्री को हुन्छ ?
गठबन्धनको प्रधानमन्त्री सबैले ‘म, म’ भनिरहेका होलान् । मलाई पनि म भन्ने छ मनमा । अरूको मनमा अरूको कुरा आएका होलान् । तर, अहिलेसम्म कसैले मुख खोलेर बोलेको छैन । चुनावपछि यसबारे चर्चा होला र निर्णय गरिएला । तर, कुरा के हो भने कुन व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने, कति पटक राष्ट्रपति हुने, कति पटक पार्टीको अध्यक्ष हुने भन्ने कुरा सिस्टममा लानुपर्ने आवश्यकता छ ।
रहर त होला नि प्रधानमन्त्री बन्ने ?
रहरले हुन्छ कि आवश्यकताले हुन्छ प्रधानमन्त्री ? म रहर राख्ने मान्छे होइन । यो देशका समस्यालाई समाधान गर्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे हुँ । अब कुरा के छ भन्दाखेरि मान्छेहरूले तीनवटै नेताको कुरा गर्छन् । हाम्रो पार्टीभित्रबाट कोही प्रधानमन्त्रीका लागि आउँछ भने त्यो पार्टीले निर्णय गर्ने कुरा भयो । कांग्रेस वा माओवादीभित्रबाट कोही आउँछ भने उनीहरूले तय गर्ने कुरा भयो । त्यसकारण चुनावपछिको समयले के माग्छ, त्यही हुन्छ ।
एमाले पहिलो स्थानमा आउने त कल्पना पनि नगरे हुन्छ । यसपटकको चुनावमा कुनै दलको पनि बहुमत आउने सम्भावना छैन ।
मङ्सिर ४ पछिको नेपाली राजनीति कस्तो हुन्छ ? कसरी हेरिरहनु भएको छ ?
हेर्नुस् । यसपटकको चुनावमा कुनै दलको पनि बहुमत आउने सम्भावना छैन । किनभने अहिलेको जुन निर्वाचन प्रणाली छ, यसले पनि कुनै दलको बहुमत आउन दिने देखिँदैन । त्यसकारण पहिलो, दोस्रो, तेस्रो दल हुन सक्लान् । चुनावपछि गठबन्धनकै सरकार बन्छ र गठबन्धन नै बलियो भएर जान्छ ।
अब म ‘र्यापिड फायर’ मा प्रश्न सोध्छु । एकदम छोटकरीमा जवाफ दिनुहोला ।
निर्वाचनमा योग्यता कि सिद्धान्त ?
सिद्धान्त ।
शासकीय स्वरूप सांसदबाट निर्वाचित कि प्रत्यक्ष निर्वाचित कार्यकारी ?
सांसदबाट निर्वाचित । प्रत्यक्ष निर्वाचित कार्यकारीले तानाशाह जन्माउँछ । नेपालका लागि हित गर्दैन ।
मतदातालाई आश्वासन कि प्रतिवद्धता ?
प्रतिवद्धता । त्यही प्रतिवद्धताभित्रै आश्वासन हुन्छ ।
तपाईँको रोजाइ मतदाता कि कार्यकर्ता ?
मतदाता ।
एकजना रोज्नु पर्दाः पुष्पकमल दाहाल कि शेरबहादुर देउवा ?
यसरी व्यक्ति रोज्ने काम गर्नुहुँदैन ।
नेतृत्व वैचारिक कि व्यवहारिक ?
वैचारिक । विचारमा स्पष्टता भयो भने व्यवहारिक आफैं हुन्छ ।
काठमाडौँ कि रौतहट ?
अहिले रौतहट ।