
काठमाडौं । भारतीय संगीतकी मूर्धन्य गायिका आशा भोसलेको निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेकी भोसलेको ९२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो । भोसलेलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
७ दशकभन्दा लामो सांगीतिक जीवन यात्रामा हजारौँ गीत गाएकी भोसलेका गीतहरू भारतीय मात्र होइन, नेपालमा पनि लोकप्रिय छन् । गायिका भोसलेको निधनले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भोसले भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय गायिकामध्ये एक हुनुहुन्थ्यो । हिन्दी फिल्म गीत संगीतमा भोसले र उहाँकी दिदी स्वर्गीय लता मंगेशकरको योगदान अमूल्य मानिन्छ । सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गर्नुभएको थियो ।