
काठमाडौं । इरान र अमेरिकाबीच शनिबार पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ता हुँदैछ ।
पाकिस्तानको इस्लामावादमा हुने वार्ताका लागि इरानी तथा अमेरिकी टोली पाकिस्तान पुगिसकेका छन् । इस्लामावादस्थित जिह्ना सम्मेलन केन्द्रमा दुवै पक्षका प्रतिनिधिहरु बेग्लाबेग्लै स्थानमा वार्तामा बस्नेछ । पाकिस्तानी मध्यस्थकर्ताहरुले एक अर्काका सन्देश दुवै पक्षसमक्ष पुर्याउनेछन् ।
अमेरिकी वार्ता टोलीमा उपराष्ट्रपति जेडी भान्स, डनल्ड ट्रम्पका ज्वाइँ जरेद कुश्नर र पश्चिम एसिया दूत स्टिभ विटकफ सहभागी छन् । इरानी टोलीको नेतृत्व सभामुख मोहम्मद बगेर गालीबाफले गर्नुहुनेछ भने टोलीमा विदेशमन्त्री अब्बास अराघ्ची पनि हुनुहुन्छ ।
अमेरिकाले इरानले आणविक हतियारको महत्वाकांक्षा त्याग्नुपर्ने, हर्मुज मार्ग सञ्चालन गर्न दिनुपर्ने लगायतका माग अघि सारेको छ भने इरानले आफ्नो देशमा आक्रमण बन्द गर्नुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने, हर्मुनमा ओमानसँग मिलेर शुल्क उठाउन पाउनुपर्नेलगायतमा सर्त अघि सारेको छ ।
यो वार्तालाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदममा रुपमा हेरिएको छ । ट्रम्पले अमेरिकाले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेको बताउनुभएको छ । जसलाई उहाँले वार्ताका लागि व्यवहारिक आधार भएको टिप्पणी गर्नुभएको छ । उता, इरानका विदेशमन्त्री अब्बास अर्घाचीले भने १५ बुँदे प्रस्तावबारे उल्लेख गर्नुभएको छ ।
यी दुवै प्रस्तावहरू औपचारिकरूपमा सार्वजनिक नगरिए पनि केही अंशहरू चुहावट भएको छ । तर, कूटनीतिक स्रोतका अनुसार दुवै प्रस्तावबीच ठूलो अन्तर रहेको बताइएको छ। वार्ता हुने भएपछि कडा सुरक्षा व्यवस्थाका कारण इस्लामावादका सडक शनिबार बिहानैदेखि खालीजस्तै देखिएका छन् भने मुख्य मार्ग बन्द गरिएका छन् । सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ ।