आर्टेमिस टु अभियानका चार अन्तरिक्ष यात्रीहरु चन्द्रमाको नजिक पुगेर पृथ्वीमा सुरक्षित फिर्ता

चैत्र २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
आर्टेमिस टु अभियानका चार अन्तरिक्ष यात्रीहरु चन्द्रमाको नजिक पुगेर पृथ्वीमा सुरक्षित फिर्ता

काठमाडौं । झन्डै ५० वर्षपछि मानवलाई चन्द्रमा नजिक पुर्याएको आर्टेमिस–टु अन्तरिक्ष अभियानका यात्रीहरू पृथ्वीमा सकुशल फर्किएका छन् । 

नेपाली समयअनुसार शनिबार बिहान पौने ६ बजे उनीहरु प्रशान्त महासागरमा अवतरण गरेका हुन् । ध्वनिको गतिभन्दा ३३ गुणा तेज गतिमा यो यान पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो । त्यसपछि क्रमशः यसको गति घट्दै गएको थियो । कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्से सहितका चार अन्तरिक्ष यात्री प्यारासुटको सहयोगमा सान डिएगोनजिक समुद्रको पानीमा झरेका थिए ।

१ अप्रिलमा फ्लोरिडाबाट उडेको यस उडानले अपोलो–थर्टिनको रेकर्ड तोड्दै पृथ्वीबाट सबैभन्दा टाढाको दूरीमा मानव पुग्ने रेकर्डसमेत बनायो । यस क्रममा चार अन्तरिक्ष यात्रीहरुले ४ लाख ६ हजार ७ सय ७१ किलोमिटरसम्मको यात्रा गरेका हुन् ।

अभियानले चन्द्रमाबाट निकै टाढा रहेका र मानिसका आँखाले यसअघि कहिल्यै नदेखेका चन्द्रमामा भागसमेत विश्वसामु ल्याएको छ । यस क्रममा पूर्ण सूर्यग्रहण र अन्तरिक्षका अन्य धेरै ग्रहहरू पनि देखिएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले परीक्षणस्वरुप यी यात्रुहरुलाई चन्द्र कक्षनजिक पठाएको हो । 

आर्टेमिस–फोरले २०२८ मा चन्द्रको दक्षिण ध्रुवनजिक दुई अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य लिएको छ । नासाले चरण–चरणमा अनुसन्धान गरेर आगामी दशक चन्द्रमामा आधार शिविर निर्माण गर्ने योजना पनि बनाएको छ । त्यहाँबाट उनीहरुलाई जलसेनाको जहाजमा लगिएको थियो । 

नासा प्रमुख जारेड आइज्याकम्यानले यी यात्रुहरुलाई मानवताको प्रतिनिधिको रुपमा व्याख्या गर्दै उनीहरुको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताउनुभयो । सन् १९६० र ७० को दशकमा एपोलो मिशनअन्तर्गत नासाले चन्द्रमातर्फ थुप्रै यान पठाएको थियो । 

अमेरिकाबाट २० जुलाई १९६९ मा एपोलो ११ का निल आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । त्यसयता, ३ वर्षभित्र कुल १२ जना अमेरिकीहरुले एपोलो मिशनअन्तर्गत चन्द्रमामा पाइला राखिसकेका छन् । चीनले अहिले ‘स्पेस रेस’ मा अमेरिकालाई चुनौती दिइरहेको छ । २०३० तिर चन्द्रमा आफ्ना नागरिकलाई पठाउने चीनको लक्ष्य छ ।