
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ ।
इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरूद्धको कारबाही निरन्तरताका लागि आक्रमण जारी राखिएको जनाइएको छ । इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटरभन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी गरेको छ ।
दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्ने चेतावनी जारी गरेपछि इजरायलले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामको स्वागत गर्दै युद्धविरामले लेबनानलाई पूर्णरूपमा समावेश गरेको सुनिश्चित गर्नु पर्ने बताउनुभएको छ ।
पछिलो समयमा इजरायली आक्रमणले एक हजार पाँच सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् । लेबनानी अधिकारीहरूका अनुसार, विशेष गरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको प्रभुत्व रहेको छ ।
लेबनानी सेनाले निकासी आदेश जारी गर्दै विस्थापित मानिसहरूलाई दक्षिणमा नफर्कन चेतावनी दिएको छ । युद्धविराम घोषणा हुनुभन्दा केही समय अघि दक्षिणी सहर सिडोनमा भएको इजरायली आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो ।
यसैबीच इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरून्त बाहिरिन आह्वान गरेको छ । दूतावाससँगको पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिँदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुँदे प्रस्ताव बमोजिम इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरे पछि यो आह्वान आएको हो । यता तेहरानले द्वन्द्व अवधिमा भएको क्षतिको लागि इरानलाई क्षतिपूर्तिको भुक्तानी गर्न आह्वान गर्दै वित्तीय क्षतिपूर्तिका लागि जोड दिएको छ ।
इरानले आफ्नो क्षेत्रबाट अमेरिकी लडाकु सेना फिर्ता लिन र लेबनानसहितका क्षेत्रमा युद्धको अन्त्य गर्न माग गरेको जनाइएको छ ।