भारतको मणिपुरमा फेरि हिंसा भड्कियो

चैत्र २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको मणिपुरमा फेरि हिंसा भड्कियो

काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । 

झन्डै तीन वर्षयता बेलाबेला चर्किँदै आएको हिंसात्मक आन्दोलन पूर्णरूपमा साम्य हुन नपाउँदै फेरि अर्को हिंसात्मक आन्दोलन सुरू भएको हो । प्रान्तीय राजधानी इम्फाल उपत्यकामा मंगलबार भएको घटनामा दुई नाबालकसहित चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

करिब वर्ष दिनको राष्ट्रपति शासनपछि गत फेब्रुअरीमा नयाँ निर्वाचित सरकार गठन भएयता अवस्था तुलनात्मक रूपमा शान्त थियो । तर, मंगलबारको घटनापछि पुनः तनाव चर्किएको हो । मणिपुरको विष्णुपुर जिल्ला प्रशासनका अनुसार मंगलबार बिहान करिब १ बजे संदिग्ध सशस्त्र समूहले एक घरमा बम प्रहार गर्दा पाँच वर्षका बालक र ६ महिनाकी बालिकाको मृत्यु भएको हो । 

उनीहरूकी आमा गम्भीर घाइते भएकी थिइन् । उक्त क्षेत्र रैथाने मणिपुरी मैतेई समुदायको बाहुल्यता भएको तल्लो भाग र अर्को जनजाति समुदाय कुकी बहुल चुराचन्दपुर जिल्लाको सिमानासँगै जोडिएको छ । घटनाको खबर फैलिएसँगै स्थानीय आन्दोलित भएका छन् । 

आक्रोशित भीडले घटनास्थलनजिकै रहेको केन्द्रीय रिजर्भ पुलिस बलको क्याम्पमा आक्रमण गरेपछि अवस्था थप तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । राज्यका गृहमन्त्री कोन्थौजम गोविन्दसका अनुसार गोली लागेर घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ । 

मुख्यमन्त्री युमनाम खेमचन्द्र सिंहले घटनालाई बर्बरतापूर्ण भन्दै छानबिन गर्न सीबीआईलाई निर्देशन दिनुभएको छ । घटनापछि इम्फाल उपत्यकाका पाँच जिल्लामा तीन दिनका लागि मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको छ । स्थानीय प्रशासनले विष्णुपुर जिल्लामा कर्फ्यु आदेश जारी गर्दै सर्वसाधारणको आवतजावतमा कडा प्रतिबन्ध लगाएको छ । 

सन् २०२३ मे महिनादेखि सुरू भएको जातीय हिंसामा मणिपुरमा २ सय ६० भन्दा बढीको ज्यान गएको छ भने ६२ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।