
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको धम्कीपछि इरान र अमेरिका दुई साताको सशर्त युद्धविरामका लागि सहमत भएका छन् ।
ढुवानीका लागि हर्मुज हुँदै 'सुरक्षित मार्ग' बारे थप छलफल गरिने भएको छ । अमेरिकी सेनाले इरानमाथिको आक्रमण रोकेको एक अमेरिकी अधिकारीले जानकारी दिए । राष्ट्रपति ट्रम्पले तेहरानसँग दुई हप्ताको युद्धविराममा सहमत भएको घोषणा गरेपछि तत्काललाई आक्रमण रोकिएको हो ।
इरानको सेनाले युद्धविरामको समयमा होर्मुज हुँदै जहाजहरूको आवतजावत समन्वय गर्ने इरानका विदेशमन्त्रीले बताएका छन् । सशर्त दुई साता युद्धविरामका लागि दुवै देश सहमत भएसँगै तेहरानले विजयको दाबी गरेको छ । संयुक्त राज्य अमेरिकालाई प्रतिबन्ध हटाउने र आणविक संवर्द्धन स्वीकार गर्ने सहितको १०-बुँदे योजना स्वीकार गर्न बाध्य पारेको इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को एक विज्ञप्तिमा उल्लेख छ ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानको योजना वार्ता गर्नको लागि एक व्यावहारिक आधार भएको बताउनुभयो । उहाँले ढुवानी यातायातलाई हर्मुजबाट जान अनुमति दिइएसँगै युद्धविरामका लागि सहमत भएको जानकारी दिनुभयो ।
यसअघि मध्यस्थकर्ताको रूपमा काम गरिरहेको पाकिस्तानले ट्रम्पलाई "कूटनीतिकतालाई आफ्नो बाटो चलाउन दिन" आफ्नो समयसीमा दुई हप्ता बढाउन आह्वान गरेको थियो । इस्लामावादमा उच्चस्तरीय वार्ता हुने बताइएको छ । यस वार्ताले ६ साताको विनाशकारी युद्धलाई स्थायी अन्त्यतर्फ लैजान्छ वा पुन: युद्धकै स्थितिमा फर्काउँछ भन्ने कुरा अवको दुई सातामा तय हुनेछ ।